बिराटको पेट्रोल बिक्री गर्न चार पम्पलाई अनुमति, एउटै व्यावसायीको ३ पम्प, कति बिक्रि गर्नेछ तेल?

२३ पुस, काठमाडौं ।

बिराट पेट्रोलियमले ल्याएको पेट्रोल बिक्री गर्न ४ पम्पले स्वीकृति पाएका छन् । त्यसमध्ये व्यवसायी यशु प्रधानका मात्रै ३ पम्प छन् ।

स्रोतका अनुसार आपूर्ति मन्त्री गणेशमान पुनको संयोजकत्वमा भएको छलफलले ४ पम्पलाई बिराटले ल्याएको पेट्रोल बिक्रीका लागि अनुमति प्रदान गरेको हो । व्यवसायी प्रधानको स्वयम्भूमा रहेको हामा आयल, सोह्रखुट्टेमा रहेको जयकुमारी र इमाडोलमा रहेको न्यु भद्रकाली पम्प तथा वीरगन्जका व्यापारी श्याम रौनियारको काँडाघारीमा रहेको समृद्धि आयल स्टोरले बिराटले ल्याएको पेट्रोल बिक्रीको अनुमति पाएका हुन् ।


बिराटले ९ पुसमा ५ ट्यांकर (९७ हजार लिटर) पेट्रोल विराटनगर नाका हुँदै ल्याएको थियो । हल्दिया रिफाइनरी पेट्रोकेमिकल्सबाट युरो–४ मापदण्डको तेल आयात गर्ने बिराट मुलुकमा निजी क्षेत्रबाट पहिलोपटक पेट्रोल आयात गर्ने कम्पनी पनि हो ।

सरकारले २ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै निजी क्षेत्रलाई पनि पेट्रोलियम आयात गर्न खुला गरेको थियो । निजी क्षेत्रले आयात गरेको इन्धनको मूल्य आफैँ निर्धारण गर्नुपर्ने तर गुणस्तर सरकारी निकायमा परीक्षण गराई अनुमति प्राप्त गर्नुपर्ने सर्त थियो ।

बिराटले ल्याएको तेल युरो–४ मापदण्डको भएको गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरेपछि उसले बिक्री गर्ने स्थानको खोजी गरेको थियो । मुलुकभरका पम्प आयल निगमका आधिकारिक बिक्रेता भएको र निगमले उपलब्ध गराएबाहेकका अन्य पेट्रोलियम बिक्री गर्न नपाउने नियम भएकाले बिराटको पेट्रोल कुनै पनि पम्पले बिक्री गर्न सकेका थिएनन् ।

निगमले पनि सरकारको निर्देशन पाए मात्रै बिराटको तेल बिक्री गर्न निजी पम्पलाई निर्देशन दिन सक्ने बताएको थियो । त्यसपछि मन्त्रीस्तरीय निर्णय गरी बिराटको तेल बिक्री गर्नका लागि पम्पहरूलाई अनुमति दिएपछि ४ पम्पले इच्छा देखाएका हुन् nepaliheadlines

Write Comment Below: