नाकाबन्दी छिट्टै खुल्छ: अर्थमन्त्री पौडेल

ललितपुर, २५ मङ्सिर । अर्थमन्त्री विष्णु पौडेलले भारतले लगाएको नाकाबन्दी छिट्टै खुल्ने बताउनुभएको छ ।
बाह्रवर्षे गोदावरी सिंहस्थ महामेला आयोजकले आज आफ्नो खर्च विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उहाँले इन्धन अभावले पैदा भएको समस्या समाधानतर्फ गएको बताउनुभएको छ । मधेसी मोर्चासँगको वार्ता सकारात्मक हुँदै गएको उहाँको भनाइ रहेको थियो ।
चक्रपथदेखि गोदावरीसम्मको बाटोलाई फराकिलो पार्ने कार्यमा सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । यसैगरी, उहाँले वहुप्रतिक्षित ललित घुम्ती (सडक) निर्माण तथा गोदावरी करिडोर सडक निर्माणमा समेत सहयोग गर्ने आश्वासन दिनुभयो ।
गोदावरी कुण्डको जिर्णोद्धारलगायत नवनिर्माणमा पनि सरकारको सहयोग रहनेछ, उहाँले भन्नुभयो ।
महामेलामा रु एक करोड छ लाख ९६ हजार १२७ आम्दानी भएकोमा ४८ लाख ५८ हजार ५५७ रुपैयाँ बचत भएको आयोजकका सहसंयोजक मधुसुदन पौेडेलले बताउनुभयो । गोदावरी मेला गत भाद्र महिनाभरि सञ्चालन भएको थियो ।
dainiknepal

Write Comment Below: