कार्यदलको बैठक यी दुई मन्त्रीका कारण बस्न नसकेको खुलासा

काठमाडौं, २७ पुस । मधेसी मोर्चाका ११ बुँदे मागमा सहमति खोज्न बस्ने भनिएको कार्यदलको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
कार्यदलमा रहेका मधेसी मोर्चाका सदस्यहरू बैठकका लागि दिनभरि कुरेर बसे पनि कार्यदलमा सदस्य रहेका एमाले र एमाओवादीका मन्त्रीहरू खबर नगरेपछि बैठक प्रभावित भएको हो ।
बैठक स्थगित हुनुको कारण स्पष्ट रुपमा नखुलाइए पनि मन्त्रीहरूले आन्तरिक गृहकार्य नगरेका कारण बैठक प्रभावित भएको स्रोतले जनाएको छ ।
कार्यदलका सदस्य तथा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बैठकका लागि तयार भएर बसे पनि सरकारका तर्फबाट कुनै पनि खबर नआएको बताउनु भयो ।
‘हामी त कार्यदलको बैठक छ भनेर तयारी अवस्थामा बसेका थियौँ’, उहाँले भन्नुभयो, ‘बेलुका छ बजेसम्म खबर आएन । राति हुने बैठकमा त के जानु र ?’
स्रोतका अनुसार कार्यदलका सदस्य तथा उपप्रधानमन्त्री भीम रावल र गृहमन्त्री शक्ति बस्नेतले तयारी नगरेपछि बैठक नबोलाउनु भएको हो । मधेसी मोर्चाले कार्यदलको कार्यविधि र बैधानिकतामा स्पष्ट भएर आजको बैठकमा आउन भनेका थिए ।
dainiknepal

Write Comment Below: