त्रिदेशीय कुटनीतिको गञ्जागोल खेलको मारमा नेपाली जनता
यतीबलेला चिनियाँ राष्ट्रपति सि जिन पीङको सम्भावित नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत र चीन भ्रमणले कुटनीतिक क्षेत्र तातेको छ । कुनै भवितव्य नभए अनि राजनीति संलदै गए सन् २०१६ को मार्च वा अप्रिलमा चिनियाँ राष्ट्रपतिले नेपालको एक या दुई दिने भ्रमण गर्न सक्नेछन् ।
यस्तै त्यसअघि नै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला भारत लगत्तै चीनको भ्रमण गर्ने पनि पक्का पक्की भैसकेको छ । यस्तो अवस्थामा राष्ट्रपति सी जिनपीङको सम्भावित नेपाल भ्रमणका लागि चिनियाँ पक्षले तयारी र पहल समेत सुरु गरिसकेको छ । तर, नेपालको कुटनीतिक पहल भने शून्य प्राय छ । यती सम्म की परराष्ट्र मन्त्री कमल थापाले ओलीको पहिलो विदेश भ्रमण भारतबाटै हुने र भारतसँगको सम्बन्ध चीनसँगको भन्दा गाढा रहेको बताइसकेका छन् । हुन पनि अहिलेको नाकाबन्दीले भारतकै सम्बन्ध बलियो हुनुपर्ने निश्कर्ष निकालिदिएको छ ।
तर, एक्काइसौं शताब्दीमा कुनै एक मुलुक अर्को एक मुलुकको मात्रै भर पर्दा पाउने दुःख कष्टका बारेमा यो नाकाबन्दी भन्दा अर्को उदाहरण पनि नहोला । नेपालले दुबै छिमेकीहरुसँगको सम्बन्धलाई समानान्तर गर्ने लक्ष्य राख्नु स्वभाविक हो । तर, बढी ध्यान भारततीरै देखिन्छ । यही कारण पनि चीन बेला बेलामा नेपालका शासकहरुसँग झस्कने गरेको छ ।
र अहिले पनि त्यस्तै अवस्था आइपरेको छ । यही बिचमा चीनका लागि नेपाली राजदुत डा.महेश मास्केको पदावधि समाप्त हुन लागेको छ । चीनसँग राम्रो सम्पर्क सुत्र कायम गरेका मास्केको पदावधी थप्ने पक्षमा सरकार देखिदैन । तर, उनको अभावमा बेइजिङमा नेपालले गर्नुपर्ने पहल गर्न सक्ने छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने विषयले यतिवेला नेपालको मात्र होइन, दक्षिण एसियामै चासोको विषय बनेको छ । उनको सम्भावित नेपाल भ्रमणलाई लिएर सबैभन्दा बढी भारत नै हच्किएको छ ।
उनको भ्रमण प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि हुने बताइएपनि मितिका बारेमा कसैले पनि खुलाएको छैन । चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि मात्र होइन, चीनका लागि पनि निकै महत्वपूर्ण र नयाँ आयाम हुने छ र यो भ्रमण दक्षिण एसिया हुँदै मध्य एसियासम्म चीनको पहँच बढाउनका लागि फलदायी हुनेछ ।
नेपालको आर्थिक विकासमा पनि चिनियाँ योगदान बढ्ने गरि यो भ्रमण हुनेछ । उनी विश्वकै शक्तिशाली शासक मध्ये एक हुन् र उनी विश्वकै केन्द्रमा रहेका नेता हुन् । यस्तो अवस्थामा उनले नेपाल भ्रमणका लागि केही सर्तहरु तयारी गरेका छन् ।
उनको सम्भावित भ्रमणमा इन्धन पाइपलाईन निर्माण र त्यसको सम्पूर्ण लगानी चीनले नै गर्नेगरी सम्झौता गर्ने, मध्य एसियालाई केन्द्र बनाएर निर्माण गरिने रेलमार्गको हस्ताक्षर गरिने र नेपालमा चिनियाँ लगानी ल्याएर उर्जा विकास गर्ने विषयमा हस्ताक्षर गर्न चीन तयार छ ।तर, यसका लागि उसले केही सर्त राख्नेछ । त्यो प्रधानमन्त्री ओलीकालाई अत्यासलाग्दो र असम्भव हुने छ ।
चीनले यी सम्झौता अघि प्रधानमन्त्री ओलीसँग बेइजिङमा इन्धनको व्यापारिक सम्झौता र विप्पा सम्झौता गर्ने छ । र शीको भ्रमणमा हुने सम्भावित सम्झौताका लागि राजनीतिक सहमति कायम गर्नका लागि ओलीलाई आग्रह गर्ने र राजनीतिक सहमति बनेमा मात्र उनको भ्रमण हुने छ ।
नत्र, उपराष्ट्रपतिको मात्र भ्रमण हुनेछ । नेपालसँगको सम्बन्ध बलियो बनाउन नेपालको राजनीतिक नेतृत्वले केही प्रतिवद्धता जनाउनुपर्ने उसको सर्त रहने छ । चीनसँगको सम्बन्ध दिल्लीलाई देखाउन या उसँग बार्गे्निङ पावर बढाउनका लागि मात्रै प्रयोग गर्ने रणनीतिको अन्त्य गर्नका लागि पीङले प्रतिवद्धता माग्ने भएका हुन् ।
यी र यस्तै कारणबाट चिनियाँ राष्ट्रपति नेपालको राजनीतिक अवस्था र कार्यकारी प्रमुख अर्थात् केपी शर्मा ओलीसँग डराइरहेको अवस्था छ । तर, यही बीचमा प्रधानमन्त्री ओलीलाई भने सबैभन्दा ठुलो डर भारतीय प्रधानमन्त्री बनेका छन् । चीनसँगको सम्बन्धलाई उदार र देखिनेगरि अघि बढाउने उनको चाहना भए पनि अर्थतन्त्रको अधिकांश हिस्सामा प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको भारतसँगको सम्बन्ध बिग्रने डर उनमा छ ।
चीनसँग इन्धन खरिद सम्झौता लगत्तै भारतले एक सन्देश पठाएर अब चीनसँगै सबै व्यापार व्यावसाय गरे भैगो भन्ने आशय व्यक्त गरिसकेको छ । अनि प्रधानमन्त्री ओललिाई नाका, हिमाली बिकटता लगायतका विषय सम्झाएर चीनसँग लाग्न खोजे सहज नाकाहरु सञ्चालनमा अझै अबरोध कायम राख्ने घुमाउरो धम्की दिइरहेको छ ।
यसरी भारतीय सरकारको पञ्जा मुक्त हुने उपाय खोज्दै गर्दा मोदीले दिएको घुमाउरो धम्कीले प्रधानमन्त्रीलाई पोली रहेको छ । प्रधानमन्त्री ओलीले मोदीलाई फकाउने र खुसी पार्ने अनि मात्रै पीङसँग हात मिलाउने रणनीति लिएको देखिन्छ ।
तर, यसो गर्दा समय निकै अघि बढीसकेको हुनेछ अनि आम जनताले भोगिरहेको यो संकट टार्न उनी असफल हुने अवस्था पनि आइसकेको हुनेछ । यस्तो अवस्थामा ओलीले ढिलाई गरे भने मोदी पनि रिसाउने, चीन पनि बिच्कने अवस्था आउन सक्छ । यस तर्फ पनि ओलीको बेलैमा ध्यान जानु जरुरी छ ।
nepalsandesh
