भक्तपुर । सञ्चारकर्मी तथा स्रष्टा जितेन्द्र रसिकको तेस्रो कृति ‘एलियनको पृथ्वी भ्रमण’ सार्वजनिक गरिएको छ ।
भक्तपुर साहित्यिक समाजको स्थापना दिवसका अवसरमा आज प्रा डा देवी सुवेदीले उक्त कृति लोकार्पण गर्दै सचित्र कथा पढेर बालबालिकाले मनोरञ्जन र ज्ञान हासिल गर्न सक्ने बताउनुभयो ।
स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको बाल कथासङ्ग्रहभित्र ‘पेन्सिलको अदालत’, ‘क्यामेराको झगडा’, ‘काग र कोइलीको बिहे’, ‘एलियनको पृथ्वी भ्रमण’, ‘टाइक्यापे खैरे’, ‘लाँकुरी र काजी’ शीर्षकमा छ कथा सङ्ग्रहित छन् ।
कथाकार रसिकले बालबालिका मुछिएका माटो र स्रष्टा कलाकार हुन् भन्दै मुछिएका माटालाई कलाको स्वरुप दिने र देशको बगैँंचा सिगार्ने काम स्रष्टाबाट हुनुपर्ने बताउनभयो ।
बाल कथाकार तथा समालोचक कार्तिकेय घिमिरेले कृतिको समीक्षा गर्दै कृतिका सबै कथा अब्बल रहेको र बालबालिकाको मन छुन सक्ने बताउनुभयो ।
समाजका अध्यक्ष राजुराम मुनकर्मीले कृति बालबालिकाका लागि समय परिवेश अनुसारको खुराक भएको बताउनुभयो ।
त्यस अवसरमा समाजसेवी कृष्णलाल प्रधानलाई समाजको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
समाजको ५२ आँैं नियमित साहित्यिक शृङ्खलामा काभ्रेको जुनकिरी साहित्य अभियान, ज्योतिष्मति साहित्य समाज, ज्योति साहित्य समाज, सामाखुसी साहित्य समाज, तरेली साहित्य प्रतिष्ठान लगायत दर्जनभन्दा बढी साहित्य संस्था सहभागी थिए । सहभागी कविले आआफ्नो रचना पनि वाचन गर्नुभएको थियो ।
nepalsandesh
