दुई खर्बभन्दा बढीका निजी योजना रोकिए

२७ पुस, काठमाडौं ।

लगानीको सम्भाव्यता अध्ययन गरी नेपाल आउने अन्तिम तयारी गरेका केही ठूला लगानीकर्ताले तत्कालै लगानी गर्नु जोखिमपूर्ण रहेको निष्कर्ष निकालेका छन् ।

चीनको होङ्सीले ३६ अर्ब रुपैयाा लगानीमा नेपालमा सिमेन्ट उद्योग सञ्चालनका लागि उद्योग दर्ता गरिसकेको छ, तर मुलुकको पछिल्लो अवस्थाका विषयमा होङ्सीले गम्भीर चासो राख्ने गरेको छ ।

बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा विस्तार गर्न लागेको प्लान्टलाई अस्थिरता देखेकै कारण श्रीलंका लगेको छ ।


चीनको ठूलो झोला उद्योगले नेपालमा १ अर्ब लगानी गर्ने अन्तिम तयारी गरे पनि नेपालमा राजनीतिक वातावरण सहज नभएको भन्दै पछि हटेको छ ।

चीनकै होङ्सी ग्रुपअन्तर्गतको कम्पनीले नेपालमा ३६ मेगावाट विद्युत् उत्पादनका हाइड्रोपावर कम्पनीमा १० अर्ब लगानी गर्ने तयारी गरे पनि वातावरण नभएको भन्दै फर्किएको छ ।

नेपालमा ५२ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना गर्न खोजेको चीनको हुवाजिन ग्रुप पनि लगानी गर्ने–नगर्ने अन्योलमै छ ।

भारतको रिलायन्स समूहले सिमेन्ट उद्योगमा ४० अर्ब लगानी गर्न खोजेको छ,
तर काम अगाडि बढ्न सकेको छैन ।

सिमेन्ट उद्योगमै ५५ अर्ब लगानी गर्न खोजेको नाइजेरियाको डांगोटे ग्रुपले पनि अपेक्षित रूपमा काम अगाडि बढाउन सकेको छैन ।

भारतीय कम्पनी जिएमआरले माथिल्लो कर्णाली आयोजनामा १ खर्ब १६ अर्ब लगानी गर्दै छ, तर पछिल्लो समयमा काम रोकिएको छ ।

तय भएका योजना रोकिँदै



बहुराष्ट्रिय कम्पनी युनिलिभरले डोब साबुन, स्याम्पुलगायत अन्य धेरै ब्रान्ड नेपालमा नै उत्पादन थाल्ने अन्तिम तयारी गरेको थियो, तर अन्तिममा ‘समय अनुकूल नभएको’ भन्दै योजना पछाडि सारेको छ ।

नेपालको एमएस समूहले सिरहामा नेपालकै सबैभन्दा ठूलो चिनी उद्योग स्थापना गरे पनि उत्पादन थाल्न पाएको छैन, पाँचतारे होटेल, धागो उद्योग, स्टिल उद्योगमा गर्ने भनिएका अर्बौँ लगानीका काम पनि रोकिएका छन् ।

सूर्य नेपालको प्यारेन्ट कम्पनी आइटिसीको साझेदारीमा ५ अर्ब लगानीको पाँचतारे होटेल निर्माणको काम अघि बढ्न सकेको छैन, सूर्य नेपालको चकलेट र बिस्कुट उद्योगमा गर्ने लगानीको प्रक्रिया पनि अगाडि बढेको छैन ।

विकास राणाको २ अर्बको लगानीमा ललितपुरमा निर्माण हुन लागेको पाँचतारे रिसोर्टको काम पनि रोकिएको छ

शंकर समूहको ३ अर्ब ५० करोड लगानीमा नक्सालमा बनाउन लागेको पाँचतारे होटेलको काम पनि नाकाबन्दीपछि रोकिएको छ ।

एनई ग्रुप र सोल्टीको संयुक्त कम्पनी सोल्टी सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिले काठमाडौंबाहिर खोल्न लागेका होटेलका योजना पनि अगाडि बढेका छैनन् ।

यती डिस्टिलरीले हालै उत्पादन गरेको नयाँ ब्रान्ड ८८४८ भोड्कालाई प्रवद्र्धन गर्ने योजना पनि रोकेको छ ।

लक्ष्मी समूहले काठमाडौं र पोखरामा होटेल निर्माणको योजना बनाए पनि समय अनुकूल नभएको भन्दै रोकेको छ ।

ठमेलमा छायादेवी प्रालिले निर्माण गरिरहेको चारतारे होटेल, शेष घलेको लगानीमा बनिरहेको सेराटन होटेलदेखि थानकोट चन्द्रागिरी केवलकारको कामसमेत नाकाबन्दीपछि रोकिएको छ ।

लोमस ग्रुपले जनकपुरमा क्लिंकर प्लान्ट बनाएर उत्पादन थाल्ने योजना बनाए पनि रोकिएको छ, २ अर्ब रुपैयाँ लगानीको परियोजनाको ९० प्रतिशत काम सकिएको छ ।

‘निर्यात गर्ने वातावरण नै छैन’

‘कहिले मजदुर समस्या, कहिले इन्धनको अभाव, कहिले लोडसेडिङ, कहिले नाकाबन्दी भइरहन्छ, डाबर नेपालको उत्पादन क्षमताअनुसार नै उत्पादन हुन सकिरहेको छैन,’ डाबर नेपालका वरिष्ठ बजार प्रबन्धक अभय गोर्खालीले भने, ‘नेपालमा आउने उद्योग अन्य मुलुकतिर गएका छन् ।

राजनीतिक अस्थिरता नभएको भए भारतमा खोलिने उद्योग नेपालमा हुन्थे, एउटा ढोका बन्द भयो भने बाहिर निस्कन त अर्काे ढोका खोजिहाल्छ नि ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines

Write Comment Below: