भात खुवाउने भारतीय नागरिकले धर्नाकारीमाथि किन पेट्रोल बाम प्रहार गरे ?

वीरगन्ज, २३ पुस । विगत चार महिनाभन्दा बढी समयदेखि जारी मधेस आन्दोलन र नाकाबन्दीले नेपाली नागरिकहरू मात्रै होइन भारतीय नागरिकसमेत आजित भएका छन् ।
भारतीय नागरिकहरूले नाकाबन्दी र मधेस आन्दोलनको बिरोधमा विभिन्न माध्यममार्फत असन्तुष्टि पोख्दै आएका छन् । भारतीय नागरिकहरूको आक्रोशको निशाना बनेका छन्, वीरगञ्जस्थित मितेरी पुलमा धर्नामा बसेका धर्नाकारी ।
नजिकैको भारतीय गाउँबाट आएका भारतीय नागरिकहरूले ती धर्नाकारीलाई सांघातिक आक्रमण गरेका हुन् । बुधबार भएको सो घटनाबाट आधा दर्जनभन्दा बढी धर्नाकारी घाइते भएका छन् ।
सीमावर्ती भारतीय गाउँ अहिरवा टोलका स्थानीयवासीले नाकाबन्दीले दुबै देशबीचको सम्बन्ध बिग्रिएको, जनताले दुःख पाएको भन्दै नाकामा धर्ना बसेका आन्दोलनकारीमाथि पेट्रोल बम प्रहार गरेका हुन् ।
अहिरवा टोलका स्थानीय बासिन्दाले चारवटा पेट्रोल बम प्रहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
भारततर्फका स्थानीयवासीले प्रहार गरेको ढुङ्गा लागेर आन्दोलनकारीतर्फका चुन्नु मिश्रा, रोशन कुमार, असरफ अली, विनय सर्राफ, कृष्णा पटेल र ओमप्रकाश सर्राफलगायत घाइते भएका छन् ।
मधेसी मोर्चाका कार्यकर्ता र नेताहरूले सीमावर्ती भारतीय क्षेत्रबाट आएका उनीहरू तस्कर भएको दाबी गरेका छन् । तर भारतीय नागरिकहरूले आफूहरू तस्कर नभइ मितेरी पुलमा बसेर नाका अबरोध गर्नेहरूविरुद्ध आक्रोश पोखेको जनाएका छन् ।
यो घटनाले मधेसी मोर्चा र मधेस आन्दोलनप्रति जनताको वितृष्णा बढ्दैछ भन्ने देखाउन थालेको छ । सुरुवाती दिनमा त्यहीका भारतीय नागरिकहरूले आन्दोलनकारीलाई भात खुवाउँथे । अहिले पेट्रोल बम प्रहार गर्न थालेका छन् । भारतीय नागरिकको भात खान स्वयं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि जाने गर्थे ।
कुनै पनि कार्य हदभन्दा धेरै भयो भने त्यसको जनता आफैले बिरोध गर्छन् । मुलुकभित्र त मधेस आन्दोलनको आलोचना भइरहेको छ । तर भारतीय जनताहरूले नै साथ दिँदै आएको यो आन्दोलनको पनि स्वयं विरोध हुनुलाई मधेसी मोर्चाले समयमा बुझ्नु पर्छ ।
dainiknepal

Write Comment Below: