एप्लास्टिक एनेमिया नामक रोगबाट ग्रसित दोलखाको भोड्पु गाविसकी २४ वर्षीय सुजना गोलेको जीवन रक्षाका लागि अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा बसोबास गर्दै आएका नेपालीहरुले रकम संकलन सुरु गरेका हुन् । सुजना गोले जीवन रक्षा अभियानका रुपमा लसएन्जलसमा बस्दै आएकी दोलखाकी सामाजिक अभियन्ता डोल्मा लामाले अभियान संचालन गरिरहेकी छन् ।
एप्लास्टिक एनेमिया सामान्य अर्थमा शरीरका हड्डीका मासी अथवा बोनम्यारोले रक्त कोष बनाउन नसक्ने अवस्था हो । आफ्नो शरीरलाई चाहिने रगत बनाउन नसकेपछि समय समयमा रगत दिनुपर्ने हुन्छ । यही प्रकारको रोगबाट पीडित सुजना अहिले काठमाडौँको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएकी छन् । उनको उपचारका लागि करिब ३५ लाख खर्च हुने अस्पतालले जनाएको छ ।
सुजनाको बाबुको यसअघि नै मृत्यु भइसकेको छ भने पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेकाले सुजनाको परिवारको आग्रहमा आफूहरुले अमेरिकाका नेपालीहरुको बीचमा अभियान संचालन गरेको लामाले बताइन् । उनका अनुसार, अहिलेसम्म अमेरिकामा १ लाख ४० हजार रुपैँया संकलन भइसकेको छ ।
अन्य देशमा समेत गरी करिब ५ लाख रुपैँया संकलन भइसकेको लामाले बताइन् । ‘प्रवासमा रहेका नेपालीहरुको सानो सहयोगले पनि सुजनाले नयाँ जीवन पाउन सक्छिन्, त्यही भएर हामीले अभियान संचालन गरेका हौँ, लस एन्जलस् र अमेरिकाको विभिन्न राज्यममा रहेका नेपालीहरुले सकारात्मक रुपमा लिँदै सहयोग गरिरहेका छन् ।’ लामाले भनिन् ।
सहयोग गर्न इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर सिधै सहयोग गर्न सक्नुहुन्छ ।
ratopati
