क्रान्तिकारी पत्रकार सङ्घ मोरङद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, 'मन्त्रालय टुक्रयाउने र मन्त्री थप्ने विषयमा पार्टीको सहमति छैन। यसको हामी विरोध गर्छौं।'
श्रेष्ठले मधेसको समस्या छिटोभन्दा छिटो समाधानका लागि पार्टी गहन रुपमा लागेको बताए। उनले यसका लागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच आपसी सहमति आवश्यक रहेको धारणा राखे। उनले थारु र मधेसी मोर्चाको आन्दोलन राजनीतिक आन्दोलन रहेको र यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्दछ भने।
नेता श्रेष्ठले मोर्चाको ११ बुँदे मागअन्तर्गत मुख्यतयाः तीन वटा विषयमा मौलिक हकअन्तर्गत समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनरवलोकनको मागलाई संविधान संशोधनको विधेयकको भाषा परिमार्जन गरी पूरा गरिने र सीमाङ्कनका सम्बन्धमा राजनीतिक समिति बनाएर समाधान गर्न सकिने बताए।
उनले नाकाबन्दीका कारण उत्पन्न सङ्कटलाई अन्त्य गर्न पहल गर्नुपर्ने र भूकम्पपछि नवनिर्माण कार्य र पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तीव्रता दिनुपर्नेमा जोड दिए। annapurnapost
