एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दुई वर्षभित्र सबै माओवादी पार्टीलाई मिलाएर मुलुककै सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा आफू लागेको दाबी गरेका छन ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कोटेश्वरमा आज आयोजित १२२औँ माओत्सेतुङ जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले मुलुक एमाओवादीको एजेण्डामा अगाडि बढे पनि माओवाद मान्ने घटकहरु नै विभिन्न टुक्रामा विभक्त हुनु राम्रो नभएको बताए ।
अध्यक्ष दाहालले भने –‘‘नेतृत्व, कार्यकर्ता तह कसले कहाँ के कति गल्ती गरे त्यसको समग्र समीक्षा गरिनुपर्छ । सबैले आत्मालोचना गरेर नयाँ आधारमा अगाडि बढ्नुपर्छ । अब पनि पुरानै तरिकाले अगाडि बढियो भने न त मुलुकको हित हुन्छ न त नेपाली जनताको नै कुनै प्रगति हुन्छ ।’’
केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले सबै माओवादी घटकलाई एकताका लागि आह्वान गरेको र परिणाम सकारात्मक दिशातिर नै गइरहेको उनको कथन थियो ।
एमाओवादी तेस्रो पार्टी भए पनि मुलुकको समस्या समाधान गर्न नेतृत्व प्रदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले लहड र सनकका आधारका कुनै पनि विषय सार्थक निष्कर्षमा पुग्न नसक्ने स्पष्ट पारे ।
मुलुक, जनता र राष्ट्रियता तथा सार्वभौमसत्ताको पक्षमा अडान राख्दा आफ्नो पार्टी पटक–पटक टुक्रा पारिएको भन्दै उनले एमाओवादी जस्तोसुकै सङ्कटमा फसे पनि जनताको पक्षमा काम गर्न नछाड्ने दृढता व्यक्त गरे ।
एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माणमा लाग्नुभएका डा बाबुराम भट्टराईप्रति परिलक्षित गर्दै अध्यक्ष दाहालले भने – “केही मान्छे माओवाद छाडेर आफूखुसी गर्दै हिँडेका छन् । यसले सहिद, घाइते, बेपत्ता नागरिकको भावना विपरीत काम भएको छ । कतै यो अपराधीकरणको दिशामा त लागेको छैन ?’’
आफ्नो कुनै पनि व्यक्तिगत स्वार्थ नभएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सम्पूर्ण ध्यान राष्ट्रको समुन्नतिमा नै केन्द्रित रहेको बताए ।
मुलुकले भोग्नुपरेको विद्यमान समस्या समाधानका लागि आफू र आफ्नो पार्टी क्रियाशील रहेको उल्लेख गर्दै उनले तराई–मधेसको समस्या राजनीतिक तवरले हल गर्ने र संविधानको सहज कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।nepaliheadlines
