युवालाई विदेश जान रोकेर स्वदेशमै रोजगारी दिन कार्यदल गठन

काठमाडौँ, १५ पुस । वाणिज्य मन्त्री दीपक बोहोराले युवालाई स्वदेशमै रोजगारी दिन मन्त्रालयले कार्यदल बनाई कार्यक्रम अघि सार्ने बताउनुभएको छ ।
श्रम तथा रोजगार मन्त्रालयसमेत सम्हाल्नुभएका मन्त्री बोहोराले आज भृकुटीमण्डपमा आयोजित १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन कार्यक्रममा वाणिज्य सचिवलाई आफूले मन्त्रालय सम्हालेको १०० दिनभित्र गर्न सकिने कार्यक्रमलाई सार्वजनिक गर्न निर्देशन पनि दिनुभयो ।
मधेसको आन्दोलन र भारतको नाकाबन्दीले नेपाललाई आत्मनिर्भर हुन सिकाएको बताउँदै मन्त्री बोहोराले भन्नुभयो– “नेपाली जुत्ता उद्योगमा नेपाल ६५ प्रतिशत आत्मनिर्भर भइसकेको छ । यस्ता कुन–कुन उद्योग, व्यापारमा नेपाल आत्मनिर्भर हुन सक्छ पहिचान गरेर युवालाई सीपमूलक तालिम वा व्यापारमा लाग्न सहयोग गरेर अगाडि बढ्नुपर्छ ।” वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले निजी क्षेत्रले पनि ‘पब्लिक प्राइभेट पार्टनरसीप’ को अवधारणालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन भएको वस्तु भारतमा निकासी गर्ने उद्देश्यले भारतसँग सहकार्य गरी विभिन्न प्रदर्शनीको आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
यही पुस ९ गतेदेखि सुरु भएको सो प्रदर्शनीको करिब एक लाख मानिसले अवलोकन गरेको आयोजकको दाबी छ ।
dainiknepal

Write Comment Below: