आज विहान तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले मधेस आन्दोलनबारे मन्त्रीहरुलाई जथाभावी नबोल्न लगाउने शर्त अगाडी सारेको हो । मोर्चाले सरकारका मन्त्रीहरुलाई सेना परिचालन गर्ने, मधेस आन्दोलन भारतको हो लगायतका भाषणबाजी बन्द गर्न लगाउने निर्णय गरेको सदभावना पार्टीका महासचिव मनिष सूमनले जानकारी दिनुभयो ।
बैठकमा सेना परिचालन गर्ने र अन्य अभिव्यक्तिले आन्दोलनकारीलाई थप उत्तेजित बनाएको भन्दै जथाभावी भाषणबाजी नगर्न मन्त्रीहरूलाई सम्झाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह समेत गर्ने निर्णय भएको छ ।
वार्तालाई परिणाममुखी बनाउनका लागि सरकार संयमित र लचिलो रुपमा प्रस्तुत हुनुपर्ने तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । बैठकमा मोर्चाका दोस्रो तहका नेताहरुको सहभागिता थियो । मोर्चाले आफ्नो मुख्य बटमलाईन सीमांकन नै भएकाले त्यसमा कुनै पनि सम्झौता नगर्ने निर्णय समेत गरेको छ । यसैबीच मोर्चाका शीर्ष नेताहरुको बैठक विराटनगरमा बसिरहेको छ ।
dainiknepal
