आयो स्मार्ट लाइसेन्स, चालकले कसरी लिने?

सवारी चालकहरुका लागि आजबाट स्मार्ट लाइसेन्सको सुरुआत गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको सुरुआत गरिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले स्मार्ट लाइसेन्सको उद्घाटन गरे।

एसियाली विकास बैंकको सहकार्यमा प्रचलनमा ल्याइएको स्मार्ट लाइसेन्स पहिलो चरणमा १ लाख ६० हजार छपाई गरिएको हो। एडिबीले यसका लागि १५ करोड रुपैयाँ सहयोग गरेको छ।

यसअघिको कागजी लाइसेन्स नक्कली समेत बनाइएकाले व्यापक दुरुपयोग भएपछि स्मार्ट लाइसेन्सको सुरुआत गरिएको हो।

आगामी २ वर्षभित्रमा जारी भएका २२ लाख सवारी चालकका कागजी लाइसेन्सलाई स्मार्ट कार्डमा परिवर्तन गर्ने सरकारी लक्ष्य छ। आगामी वर्षदेखि नै ब्लु बुकलाई समेत स्मार्ट कार्डमा परिवर्तन गर्ने लक्ष्य सरकारले लिएको छ।

स्मार्ट कार्ड शत प्रतिशत पोलिकार्बोननेटबाट बन्ने र उक्त कार्डमा सेक्युरिटी फिचर समेत हुने हुँदा नक्कलीबाट सुरक्षित रहन सकिन्छ।


कसरी लिने सवारी चालकले स्मार्ट लाइसेन्स ?
बागमति अञ्चलका सवारी चालकका लागि आगामी मंसिर २० गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट स्मार्ट लाइलेन्स वितरण प्रक्रिया सुरु हुनेछ।

यसका लागि अनलाइनबाट दरखास्त फाराम भर्नुपर्नेछ। फारामका लागि लाइन लाग्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुनेछ। फाराम भरेपछि यातायात व्यवस्था कार्यालयमा गई आफ्नो बारेमा सम्पूर्ण जानकारी गराउनुपर्छ।

त्यहाँ औंठा छाप, फोटो खिच्ने र भरेको दरखास्त बुझाएपछि स्वास्थ्य परीक्षण तथा लिखित परीक्षा र प्रयोगात्मक परीक्षा सम्वन्धी सबै प्रक्रिया पुरा भएपछि स्मार्ट कार्ड प्राप्त गर्न सकिन्छ।

तर पुरानो कागजी लाइसेन्सलाई स्मार्ट कार्ड बनाउनका लागि भने कार्यालयमा पुगी आफ्नोबारेमा जानकारी दिएपछि प्राप्त गर्न सकिने बताइएको छ। setopati

Write Comment Below: