बालुवाटारमा भएको सत्तारुढ दल, कांग्रेस र मोर्चाबीच भएको त्रिपक्षीय वार्ताका क्रममा मोर्चाका नेताहरुले सीमांकनसहितको आफूहरुको ११ बुँदे माग पुन दोहोर्याएपछि कांग्रेसले सोबारे अनविज्ञता प्रकट गरेको थियो ।
सो विषयमा कांग्रेसले पार्टीभित्र छलफल गर्ने र भोलि फेरि सत्तारुढ दलसँग छलफल गरि आगामी मंसिर १६ गते फेरि वार्तामा बस्ने सहमति भएको एक नेताले जानकारी दिए ।
यद्यपी आज सहमतिका मिलविन्दुका विषयमा गम्भीर छलफल भएको ति नेताको भनाई छ ।
नेताहरुको अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी ओली गम्भीर रुपमा प्रस्तुत भएका थिए । उनले कुनैपनि हालतमा सहमति हुनुपर्ने भन्दै रातीसम्म बसेर भएपनि निकास खोज्नुपर्नेमा पटक पटक धारणा राखेका थिए ।
ओलीले आह्वान गरेको त्रिपक्षीय वार्तामा मोर्चाका नेता महन्थ ठाकुरको नेतृत्वमा दोस्रो तहका नेताहरु हृदय त्रिपाठी, लक्ष्मणलाल कर्ण रामनरेश राय र लालबाबु रावत सहभागि दिए भने सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
तर, मोर्चाका उपेन्द्र महतो, राजेन्द्र महतोलगायतका उच्च नेताहरु भने बैठकमा सहभागि बनेनन् । उनीहरु आन्दोलनको नयाँ रणनीति बनाउन भन्दै विराटनगरमा रहेको बताइएको छ ।
मधेसी मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रलगायतका ११ बुँदे माग अगाडि सारेको छ । यस्तै, सङ्घीय संरचनाको सीमाङ्कनमा पनि प्रष्ट धारणा आउनुपर्ने मोर्चाको माग छ । मोर्चाले उठाएका विषयमध्ये तत्काल पूरा गर्न सकिने मागलाई संविधान संशोधनका माध्यमबाट समाधान गर्ने र अन्य मागलाई उच्चस्तरीय राजनीतिक समिति तथा संसदीय समितिमार्फत अगाडि बढाउन सकिने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डले राख्दै आएका छन् ।
तर, काँग्रेसले भने आफू नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई पारित गरिए समस्या समाधानमा मार्गप्रशस्त हुने धारणा राख्दै आएको छ ।
लामो समयदेखिको तराई मधेसको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको जनजीवन प्रभावित भएकोमा सबै विषयलाई वार्ता र संवादका माध्यमबाट अगाडि बढाउनुपर्नेमा दलहरु एक मत रहेपनि वार्तामा भने कुनै सहमति हुन नसकेको हो
ratopati
