सहरी विकास तथा भवन निर्माण विभागमार्फत भूकम्पपीडितलाई जाडो छल्न भन्दै ‘विन्टर सेल्टर’ (हिउँदे आवास) निर्माण गर्न लागिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख अष्टलाल सुवालले जानकारी दिए ।
उनले पहिलो चरणमा जिल्लाका शिखरआम्वोटे, चौवास, कलातीभूमिडाँडा, च्यासिङ्खर्क र धुसेनी शिवालयमा आवासका लागि त्यस्ता भवन बनाउन लागिएको बताए ।
डिभिजन कार्यालयले एउटा भवन निर्माणका लािग रु ३९ लाख लागत लाग्ने उल्लेख गर्दै थप २४ ओटा गाविसमा पनि आवास बनाउन बजेट माग भएको सुवालले जानकारी दिए ।
आधा रोपनी क्षेत्रफलमा निर्माण हुने त्यस्तो आवासमा आठ कोठा र त्यसमा महिला तथा पुरुष शौचालयसमेत रहनेछन् ।
भूकम्पबाट मृत्युहुनेको संख्या ३३०
काभ्रेपलाञ्चोकमा हालसम्म भूकम्पबाट मृत्यु हुनेको संख्या ३३० पुगेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार तथा राहत समितिले गत वैशाख १२ गते गएको भूकम्पका कारण थप तीनजनाको मृत्यु भएको जनाएपछि मृतकको संख्या ३३० पुगेको हो ।
काभ्रेपलाञ्चोकका प्रजिअ मदन भुजेलले लामो समयदेखि विभिन्न अस्पतालमा उपचार गराइरहेका तीनजनाको मृत्यु भएको पुष्टि गर्दै भूकम्पपीडितले प्राप्त गर्ने सबै प्रकारका राहत उनीहरुका परिवारलाई प्रदान गरिने बताए ।
बनेपाका आइतलाल मानन्धर, बालुवापाटीका लालबहादुर तामाङ र कुशादेवीका सावित्री हुमागाइँको मृत्यु भएको हो । भूकम्पका कारण यसअघि ३२७ जनाको मृत्यु भइसकेको छ ।
केन्द्रीय दैवी प्रकोप तथा उद्धार समितिबाट जिल्लामा आएको झन्डै ४०० थान कम्बल जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृंखला डाँडापारीका १२ गाविसमा वितरण गर्ने र न्यानो कपडा खरिदका लागि रु १० हजार यही शुक्रबारभित्र वितरण गरिने भएको छ ।
प्रजिअ भुजेलले भूकम्पपीडितका बारेमा अनुगमन र निरीक्षण प्रभावकारी हुन नसकेको स्वीकार गर्दै अनुगमनलाई प्रभावकारी बनाउन कदम चालिने प्रतिबद्धता व्यक्त गरे । imagekhabar
