सर्वसाधारणको ढाडै सेक्ने गरी व्यापारीले मूल्य वृद्धि गरे पनि नियन्त्रणका लागि सरकारले प्रभावकारीरूपमा बजार अनुगमन गरेको छैन। नत कालोबजारी गर्नेलाई कारबाही नै गरेको छ। विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले हालै गरेको बजार सर्वेक्षणअनुसार अहिले बजार अराजक बनेको छ।
भारतको अघोषित नाकाबन्दी, इन्धन अभाव र आपूर्ति कम परिमाणमा भइरहेको भन्दै व्यापारीले खाद्यान्नदेखि इन्धनसम्ममा आफूखुशी मूल्य कायम गरी बिक्री गरिरहेका छन्। डब्लूएफपीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक डेभिड कार्टुडका अनुसार सीमा अवरोधका कारण प्रभावित बनेको बजारमा अहिले एक्कासी मूल्य वृद्धि भएको छ।
उनका अनुसार नेपाल पूर्णरूपमा आयातमा निर्भर बनेका कारण पनि यस्तो अवस्था आएको हो। आपूर्ति अभावमा खानेतेल, चामल, दाल, चिनी र नुनजस्ता अतिआवश्यक खाद्य वस्तुको मूल्य आकासिएको छ।
डब्लूएफपीका अनुसार दाल र खाने तेलको मूल्य भदौ महिनायता औसतमा ३० प्रतिशतले र गतवर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ । गत वैशाखको भूकम्पबाट बढी प्रभावित दुर्गम क्षेत्रमा भने मूल्य वृद्धि योभन्दा पनि माथि गएको छ।
भूकम्पको केन्द्रविन्दु गोरखामा नाकाबन्दी अघि दुई हजार पाँच सय रुपैयाँ पर्ने २५ किलो चामलको बोरालाई अहिले झण्डै दोब्बर अर्थात पाँच हजार मूल्य पुर्याइएको छ । खाने तेल र चिनीको मूल्यमा पनि दोब्बरको हाराहारीमा वृद्धि गरिएको डब्लूएफपीका क्षेत्रीय निर्देशक कार्टुडले जानकारी दिए।
दाल र खाने तेलको मूल्य भदौ महिनायता औसतमा ३० प्रतिशतले र गतवर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ।
यस्तै इन्धनको मूल्य पनि व्यापारीले आफूखुशी बढाएका छन्। डब्लुएफपीका अनुसार नाकाबन्दी अघि एक हजार चार सयमा पाइने खाना पकाउने ग्यासको सिलिन्डरलाई व्यापारीले आठ हजारदेखि ११ हजारसम्ममा बिक्री गरिरहेका छन्।
व्यापारीले ग्यासमा ६ सय ३० प्रतिशतसम्म मूल्य बढाएको पाइएको छ।'व्यापार बन्द अवस्थामा रहँदै मूल्यवृद्धि पनि बढ्दै जाने हो भने, गम्भीर मानवीय संकट टार्न कठिन हुनेछ', क्षेत्रीय निर्देशक कार्टुडले भने,‘खाद्य सामग्रीको मूल्य सीमाभन्दा पर जान थालेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ।'
यसले गर्दा कुपोषण बढ्न सक्ने अवस्था आउनसक्ने चेतावनी पनि दिइएको छ।नेपाल खुद्रा व्यापार संघका अनुसार उद्योग र थोक व्यापारीले इन्धन अभाव, बढी मूल्यको इन्धन र ढुवानीको बढ्दो खर्चको कारण देखाउँदै दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि गरेका छन्।
संघका अध्यक्ष पवित्र बज्राचार्यले उद्योग र थोक व्यापारीले पाउरोटी, चाउचाउ, अन्डा, खानेतेल र कस्मेटिक्स सामग्रीमा मूल्य वृद्धि गरेको जानकारी दिए। 'अहिले उद्योग र थोक बिक्रेताबाटै मूल्य बढेर आएको छ', अध्यक्ष बज्राचार्यले भने, ‘राज्यले प्रभावकारीरूपमा अनुगमन नगर्दा त्यसको प्रत्यक्ष मार उपभोक्ताले व्यहोर्नुपरेको छ।'
संघका अनुसार दुई सय ९० पर्ने अन्डाको क्रेटलाई अहिले तीन सय २० देखि तीन सय ५० सम्म, पाउरोटीको प्याकेटमा १० रुपैयाँ, चाउचाउमा १५ को साटो १६ भए पनि २० रुपैयाँ घटीमा बजारमा पाइँदैन। यसैगरी खानेतेल लिटरको एक सय २० बाट तीन सयसम्म पुर्याइएको छ।'उत्पादकदेखि थोक बिक्रेताको मिलोमतोमा बजार अभाव गराएर बढी मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने परिपाटी नै चलाइयो', अध्यक्ष बज्राचार्यले भने।
डब्लूएफपीले अहिलेको असहज अवस्थामा खाद्य वस्तुमा भएको मूल्य वृद्धिले सर्वसाधारणको दैनिक जनजीवन थप कष्टकर बनेको औंल्याएको छ। 'विशेषगरी आफ्ना परिवारलाई खुवाउन दैनिकरूपमा संघर्ष गर्नुपर्ने नेपालीले यो लामो राजनीतिक गतिरोधको मार खेप्नु नपरोस भनी सम्बद्ध सबै पक्षसँग खाद्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गर्दछौं', कार्टुडले भने।
उनका अनुसार नेपालका एक चौथाई जनताले आफ्नो आम्दानीको एक दिनमा औसत १.२५ अमेरिकी डलर (एक सय ३२ रुपैयाँ ४३ पैसा) भन्दा कमखर्च गर्दै आएका छन्।
annapurnapost
