पश्चिमी ज्यामिरे गाउँका इन्द्रराज खड्का ६ दिनदेखि आमाको किरियामा छन्। टहरोमा बस्न थालेदेखि सुरु भएको दम र खोकीले च्याप्दै लगेपछि उनकी ७० वर्षीया आमा विष्णुकुमारीले यो मिनपचास काट्न सकिनन्। मंगलबार बिहान नुहाइवरी श्रीमानको एकछाकी बसेकी उनी घाममा शरीर सेकाउँदा सेकाउँदै गइन्। 'त्यत्रो भूकम्पमा भागेर बाँच्नुभयो। चिसोमा बचाउन सकिएन।' किरियापुत्री इन्द्रराज भक्कानिए।
शिखरपुर–७ की ७५ वर्षीया झम्कमाया आचार्यले यो ठन्डी सहन सकिनन्। दमकी रोगी उनी छाती फुलेर सास फेर्न गाह्रो भयो भन्दाभन्दै २० दिनअघि नफर्कने बाटो हिँडिन्। 'चिसो सुरु भएर टहरोबाट शीत चुहुन थालेपछि आमालाई दमले गाँज्यो,' भर्खर किरियाबाट उत्रिएका छोरा ध्रुवले भने, 'उपचारको भेउ नपाउँदै बित्नुभयो।'
पछिल्ला ४० दिनबीच चिसोकै कारण दक्षिणपूर्वी गाउँ ठोकर्पामा मात्र सात भूकम्प पीडितको ज्यान गयो। दम, खोकीका दीर्घरोगी ५८–७० वर्ष उमेर समूहका वृद्धवृद्धा लुगलुग काँप्दै एकपछि अर्को गर्दै बिते। पिछडिएको स्थानीय पहरी समुदायका मात्र चार जनाको मृत्यु भएको यो घटनाले अस्थायी टहरोमा आश्रित जिल्लाका भूकम्प पीडित सन्त्रस्त छन्।
दस जनाको ज्यान लिइसकेको यी सतहमा आएका केही घटना मात्र हुन्। कर्णालीभन्दा विकट दूरदराजका गाउँ र हिँडेर तीन दिनमा नपुगिने हिमाली बस्तीले घेरिएको सिन्धुपाल्चोकमा ठिहीले कठ्यांग्रिएर धेरै भूकम्प पीडितको ज्यान गइसकेको हुन सक्ने अनुमान लगाउन कठिन छैन। वैशाख १२ को भूकम्पले सर्वाधिक जनधनको नोक्सानी पुर्या एको सिन्धुपाल्चोकका भूकम्प पीडित ठन्डीले धमाधम ज्यान गुमाउँदैछन्।
मुटु कमाउने ठन्डी लिएर भूकम्प पीडितका जस्ताको अस्थायी टहरोमा छिरेको यो वर्षको चिसाले 'काल' बनेर आएको प्रस्ट संकेत गरेको छ। पूर्वतातोपानीदेखि पश्चिमी गाउँ हेलम्बुसम्म चिसोका असंख्य बिरामी छन्। घरैपिच्छे चिसोका बिरामी छन्। एउटा त्यस्तो घर र बस्ती भेट्न मुश्किल छ, जहाँ बिरामी छैनन्। बालबालिका, दम, खोकीका दीर्घरोगी वृद्धवृद्धा र सुत्केरी बचाउन हम्मे परेको छ। वयस्कमा रुघाखोकी, ज्वरो, टन्सिल देखा परेको छ। सबै उमेर समूहका पीडितलाई चिसोले कुनै न कुनै समस्या दिएको छ। उनीहरुलाई खाना रुच्न छोडेको छ। खाना नरुच्दा पीडित शिथिल बन्दै गएका छन्।
सातादेखि जिल्लाको मौसम असाध्यै चिसिएको छ। टहरोबाट शीत चुहिने र स्याँठ छिर्ने समस्या जिल्लैभरको हो। भोटेकोसी, इन्द्रावती, ब्रह्मायणी, सुनकोसी लगायत नदी तटीय क्षेत्रका बस्ती (बेसी फाँट) मा तुवाँलो, हुस्सु र शीतले मुटु कमाउने जाडो छ। लेकाली भेगमा तुसारो जम्न थालेको छ। यो तत्काल हिउँ पर्न थाल्ने संकेत हो।
शिखरपुरका शिक्षक रमेश चापागाईं गाउँमा झन्डै सय केटाकेटी र बुढाबुढी बिरामी परेको बताउँछन्। '३० भन्दा बढी वृद्धवृद्धा र झन्डै ६५ बालबालिका बिरामी छन्,' उनले भने। धेरै दीर्घरोगी वृद्धवृद्धा प्रभावित छन्। चिसोले बालबालिका बिरामी पर्दा विद्यालयमा विद्यार्थी घट्न थालेको उनले सुनाए।
माथिल्लो क्षेत्रका ३५ गाविस हिमाली क्षेत्रसँग जोडिएका छन्। त्यहाँ हिउँ पर्ने समय सुरु भयो। तातोपानी, लिस्ती, फुल्पिङडाँडा, मार्मिङ, घोर्थली, लिसंखु, ठूलोधादिङ, गोल्चे, गुम्बा, हगाम, सेलाङ, हेलम्बु, किउल, भोताङ, गुन्सा, थाङपालकोट, इचोक, बरुवा लगायत हिमाली गाविसका स्थानीय चिसोले अत्तालिएका छन्। शीत र स्याँठबाट जोगिन उनीहरू आगो तापेर रात बिताउँछन्।
एउटै मात्र बाक्लो बस्ती भएको हिमाली गाउँ गुन्सामा मात्र ५० भन्दा बढी बिरामी रहेको गाविस सचिव रामप्रसाद न्यौपानेले बताए। 'तुसारो जमेर बाक्लो बरफ जम्छ,' उनले टेलिफोनमा भने, 'गाउँमा कन्तबिजोग भएको छ।' एकै लहरका हिमाली गाउँ गुन्सा, भोताङ र थाङपालकोटमा केही दिनअघि भएको वर्षाले चिसो ह्वात्तै बढाएको छ। 'स्थानीय चौबीसै घन्टा आगो तापेर शरीर तताउँछन्,' उनले भने।
जिल्लाका ७० हजारभन्दा बढी परिवार टहरोमा बस्न थालेको आइतबार नौ महिना पूरा भएको छ। झन्डै २ लाख मानिस टहरोमुनि लुगलुग कँापिरहेका छन्। भूकम्पमा सर्वस्व गुमाएका पीडितसँग न्यानो लुगा छैन। राहतमा पाएको मन्डी तात्न छाडेको धेरै भइसक्यो। हिमाली क्षेत्रमा त खानेकुरा नै अभाव हुन थालिसक्यो। आलु, गहुँ र कोदो मात्र उत्पादन हुने हिमाली क्षेत्रमा स्थानीयले यसवर्ष राम्ररी खेती लगाउन पाएनन्। खेती लगाए पनि उब्जनी राम्रो भएन। 'राहतका खाद्यान्न निखि्रयो,' सचिव न्यौपाने भन्छन्, 'काठमाडौंबाट चामल ओसार्न थालिएको छ।'
'गाउँको बेहाल म शब्दमा बताउन सक्तिनँ,' सचिव डम्बरबहादुर श्रेष्ठले उत्तरी सीमावती गाउँका दुःख सुनाए, 'अब भूकम्प पीडित भकाभक मर्न मात्र बाँकी छ।' लिस्ती र तातोपानी गाविस सचिव श्रेष्ठ गाउँमा सयौं बिरामी भए पनि अहिलेसम्म अप्रिय घटना सुन्न नपाउनुलाई भाग्य ठान्छन्। तातोपानीको लेकाली क्षेत्र छेताङ, पाराङ, खर्क, नादुङमा अत्यधिक चिसो छ। लिस्तीको बगाम, छगाम, साबुखर्क, तार्तुङमा चिसोले पीडित निस्सासिएका छन्। अरनिको राजमार्ग लामो समय अवरुद्ध हुँदा यहाँका हिमाली गाउँमा जस्ता, खाद्यान्न लगायत सामग्री प्रशस्त पुग्न सकेनन्।
'माथिल्ला गाउँमा जस्ताको टहरो देख्न मुश्किल छ। अधिकांश त्रिपालमा छन्,' सचिव श्रेष्ठले भने, 'त्रिपालमा तुसारो र शीत जमेर बनेका बरफ पग्लिएर चुहुन्छ। म सरकारको प्रतिनिधि हुँ भन्न लाज लागेर आउँछ।' सिन्धुको कर्णाली भनेर चिनिने पारि गाउँ गोल्चे, गुम्बा, हगामका पीडितको सबैभन्दा बढी कन्तबिजोग छ। 'चिसोको कुरा गरेर साध्य छैन,' तीन गाविसको जिम्मेवारी सम्हाल्दै आएका सचिव ध्रुव थापाले भने, 'भकारी र मान्द्राको टहरोमा पीडित चिसोले छट्पटिएका छन्।' चिसोबाट जोखिन धेरै गाउँलेले अनुकम्पको धक्काले ढाल्नेखाले ढुंगामाटाका परम्परागत घर बनाएर बस्न थालेको उनले जनाए।
जुगल हिमालको फेदीका गाउँ सिन्दुर्चे, लिदी, साङलुङ, दीपु, महाथान र डुखाका गाउँ स्थानीय मान्द्रा र त्रिपालका टहरोमा जीवनयापन गरिरहेका छन्। गाविसको एक गाउँबाट अर्कोमा पुग्नै एक दिनभन्दा बढी लाग्ने बस्तीमा जस्ता पुर्यामउनु युुद्ध जितेसरह हुन्छ। 'बिरामी गणना गरेर साध्य छैन। यो हिउँद कसरी कटाउने होलान्?' सचिव थापा कहालिन्छन्।
पश्चिमी गाउँ इचोकका सचिव रामबहादुर श्रेष्ठ नुवाकोटसँग सीमा जोडिएका नापुखर्क, सुर्सिङ, मानेगौरा, ढुंगे, घोप्टे भन्ज्याङ र इचोक गाउँमा धेरै बालबालिका र बुढाबुढी बिरामी परेको बताउँछन्। 'टहरा नाम मात्रका छन्। आगो नबाली शरीर तात्दैन,' उनले भने। दाउरा बाल्न समस्या नभएकाले गाउँलेलाई आगो नै घर र लुगा भएको उनी सुनाउँछन्।
बर्खा र चाडबाडले पीडितले टहरो थप व्यवस्थित र न्यानो हुने बनाउन फुर्सदै पाएनन्। भूकम्पलगत्तै बर्खे खेतीपाती सुरु भयो। दसैं, तिहार मनाइसक्दा बाली भिœयाउने चटारो। बर्खे बाली भिœयाएपछि खेतबारी खनजोत गरी गहुँ, तोरी, आलु लगाउने हतारो सुरु भइसकेको छ। धेरै पीडित ऋणधन गरेरै बाक्लो ओछ्याउन किन्न चाहन्थे। चिसो सुरु नहुँदै भारतले लगाएको नाकाबन्दीले अभाव हुँदा न्यानोमा रात बिताउने धोको पूरा हुन पाएन।
जिल्ला अस्पतालका प्रमुख डा. सागरकुमार राजभण्डारी चिसोमा बालबालिका र दीर्घरोगी प्रताडित भएको स्विकार्छन्। 'उनीहरुलाई चिसोबाट जोगाउन नसक्दा ज्यानै जोखिममा पर्छ,' उनले भने। उनका अनुसार हिउँदको समय स्वास्थ्य संस्थामा बिरामी कम हुने सिजन हो। यो समय अन्य रोगका बिरामी कम हुन्छन्। जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउनेमा चिसोका मात्रै ५० भन्दा बढी हुन्छन्। 'अन्य रोगी नहुँदा स्वास्थ्य संस्थामा बिरामीको चाप कम भए पनि उपचारमा आउने जति चिसोका छन्,' उनले भने।
चिसोले भूकम्प पीडित मरिरहँदा न्यानो लत्ताकपडा किन्न सरकारले पठाएको १० हजार रुपैयाँ अनुदान वितरण भने सुस्त छ। डेढ सातादेखि थालिएको अनुदान वितरण अझै सकिएको छैन। सरकारले पूरा रकम नपठाउँदा पीडितले समयमै पाउन नसकेका हुन्। न्यानो लुगा अनुदानमा ८० करोड ३१ लाख १० हजार रुपैयाँ चाहिनेमा सरकारले ७० करोड मात्रै पठाएको थियो। १० करोड ३१ लाख १० हजार रुपैयाँ अपुग छ। बाँड्दाबाँड्दै नपुगेपछि थप निकासाका लागि दबाब दिन सचिव जति सदरमुकाम चौतारामा छन्।
'नपुग रकम गृहसँग माग गरेका छौं। आजभोलि नै आउँछ,' प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले भने, 'मध्यजाडो अगावै अनुदान वितरण सकेर न्यानो लुगा किन्ने वातावरण मिलाउँदैछौं।' उनका अनुसार आइतबारसम्म १८ गाविसमा मात्र वितरण सकिएको छ । ३८ गाविसमा वितरण भइरहेको छ। 'चिसो बढ्दो छ। भूकम्प पीडित बचाउन हम्मे पर्यो्,' उनले भने, 'चिसोकै कारण मर्न नदिन संवेदनशील छौं। केन्द्रमा जिल्लाको अवस्था रिपोटिङ भइसकेको छ।'
nagariknews
