सहमति कार्यान्वयन नगर्ने सरकारलाई आगामी दिनमा समर्थन गर्दा धेरै कुराको विचार गर्नुपर्ने नेताहरूले बताएका छन् ।
काठमाडौंको नयाँबानेश्वरस्थित पार्टी मुख्यालयमा शनिबारदेखि शुरु भएको राष्ट्रिय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने नेताहरूले पूर्व सहमति कार्यान्वयन नगर्ने सरकारलाई दिएको समर्थन फिर्ताले सहजता महसुस भएको जनाएका हुन् ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार धारणा राख्दै सबै नेताहरूले सरकारबाट गम्भीर धोका भएको निष्कर्ष सुनाएको बताए ।
‘अब पार्टीलाई आन्दोलनमा केन्द्रित गर्नुपर्छ भन्ने सुझाव आएको छ’, समुनले भने, ‘केही समयका लागि पार्टीको महाधिवेशन रोकेर भए पनि आन्दोलन चलाउने छौँ । स्थानीय तहको निर्वाचन विथोल्ने छौँ ।’
सद्भावना पार्टीले आफ्नो राष्ट्रिय महाधिवेशनलाई केही पछाडि साने तयारी पनि गरेको छ ।
सहमति विनै सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न लागेको र मधेसी मोर्चाले आन्दोलन घोषणा गरेकाले कम्तिमा ३ महिना महाधिवेशन सार्ने तयारी भएको महासचिव सुमनले बताए । सद्भावना पार्टीको महाविधेशन जेठको पहिलो साता वीरगञ्जमा गर्ने तय भएको थियो ।
सद्भावना पार्टीको कार्यसम्पादन समितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।
-dainik nepal
