मधेसी मोर्चालाई आफ्ना निषेधकारी, सामाजिक फाँसिवादी र हिंसात्मक क्रियाकलाप परित्याग गरेर लोकतान्त्रिक आचरण प्रस्तुत गर्न एमाले अध्यक्ष ओलीको आग्रह छ । घोषित मितिमा निर्वाचन हुन नदिन अनेकौं षडयन्त्रहरू जारी रहेको उनको भनाई थियो ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको बारेमा अन्यौल कायमै रहेको उनले बताए । संविधान संशोधन विधेयक अनुचित, अनावश्यक, असंवैधानिक र राष्ट्र तथा जनताको हित विपरित भएको हुनाले कुनै पनि हालतमा पारित हुन नसक्ने ओलीले बताए ।
पार्टीको मोची महाओली अभियान पछि जारी गरिएको विज्ञप्तीमा ओलीले भनेका छन्, ‘मत्थर भइसकेका जातीय÷क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषहरूले वर्तमान सरकार गठनसँगै फेरि शिर उठाउन थालेका छन् ।’
वर्तमान सरकार गठनसँगै सत्ता गठबन्धनबाट मुुलुकको स्वाधीनता, स्वाभिमान तथा राष्ट्रिय हितहरूमाथि विभिन्न कोणबाट निरन्तर प्रहार जारी रहेको बताउदै ओलीले भने, ‘मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सबै छिमेकी तथा मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अगाडि बढ्नु पर्नेमा सरकार विपरित बाटो हिंडिरहेको छ ।’
निर्वाचनको घोषणा भइसकेपछि वर्तमान सरकारले जथाभावी बजेट रकमान्तर गर्ने, आफ्ना कार्यकर्ता पोस्ने र निर्वाचनलाई प्रभावित गर्ने गरी राष्ट्रको ढुकुटीको दुरूपयोग गर्ने काम व्यापक रूपमा गरिरहेको आरोप ओलीको छ ।
निर्वाचनलाई प्रभावित गर्ने गरी नयाँ नियुक्ति गर्ने, नयाँ संस्थाहरूको निर्माण गर्ने, जनस्तरबाट निर्माण गरिएका संरचनाहरूको नाम परिवर्तन गरी राजनीतिक हस्तक्षेप गर्ने र कर्मचारीहरूको जथाभावी सरुवा गर्ने लगायत निर्वाचन आचारसंहिता विपरितका कामहरू तीव्र रूपमा भइरहेको पनि ओलीले दावी गरेका छन् ।
-nepali headlines
