भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले सोमबार आयोजना गरेको समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- मैले जति राम्रा काम गरेपनि ती कामहरुको प्रशंसा गर्नुभन्दा पनि आलोचना गरियो । राम्रा कामहरुलाई ओझेलमा पारेर नराम्रा कामहरुलाई ठूलो विषय बनाइयो ।
उहाँले केही मान्छे छन्, जो मेरो साना कुरालाई लिएर मजाक उडाउने र गलत अभिव्यक्ति दिने कार्यमा लागेको आरोप लगाउनुभयो । ‘मैले राम्रा गरेको कसैले देखेन् । मैले नराम्रो गरेको सबैले देखे,’ उहाँको गुनासो थियो । केही दिन अगाडि प्रधानमन्त्री ओलीले सिलिण्डर युग समाप्त पारेर घरघरमा ग्यास पाइप पुर्याउने घोषणा गरेका थिए ।
सञ्चारकर्मीको प्रश्नमा उहाँले मुलुकले छिट्टै निकास पाउने बताउनुभयो । ‘वार्ता सम्वाद चलिरहेको छ, धेरै अगाडि बढिसकेको छ । धैर्यता गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
पृथ्वी नारायण शाहको जन्म जयन्तीमा विदा दिने सरकारले नै राष्ट्रिय एकता दिवस मनाउने चर्चा थियो तर, सरकारले किन मनाएन् भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो- पृथ्वीनारायण शाहले भौगलिक रुपमा एकता गर्नुभाको हो । उहाँको सम्मान गर्नुपर्छ । उहाँको ती कामहरुको मुल्यांकन गर्नुपर्छ ।’
dainiknepal
