दिल्लीबाट राजेन्द्र महतो भन्छन्- ओली सरकार उल्लुहरुको झुण्ड हो

काठमाडौं, २७ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई उल्लुको संज्ञा दिएका छन् ।
सोमबार राजधानीमा मधेसी पत्रकार समाजले दिल्लीमा रहेका अध्यक्ष महतोसँग टेलिफोनमार्फत आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भने– ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो)को झुण्ड जस्तो छ, जसले मधेसमा भइरहेको आन्दोलन देखेको छैन ।’
मधेश झण्डै पाँच महिनादेखि बन्द हुँदा पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेका भन्दै महतोले यो अवस्था देशको लागि हानिकारक भएको चेतावनी दिए । मधेसीहरु देशभित्र अधिकार खोजिरहेका छन् तर, सरकारले मधेसको आवाज बन्दुकले जबर्जस्त दवाउन खोजेको उनको आरोप छ । उनले मधेसीहरु आफ्नो अधिकार माग्दा भारतीय देख्ने नजर पहिला परिवर्तन गर्नुपर्ने बताए ।
आफूले अहिले दिल्लीमा भारतका विभिन्न नेताहरुसँग भेट्ने क्रम जारी भन्दै महतोले मधेसका समस्या समाधान दिल्लीले गर्न ओली सरकारलाई सुझाव दिएको पाएको बताए । ‘मधेस आन्दोलन दिल्लीको हो भन्नेहरु केही समयपछि दिल्ली आउँदैछ आफ्नो दरबारमा लम्पसार पर्न,’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष महतो भने- ‘अब भारत परास्त को हुन् भने कुरा केही समयपछि थाहा हुन्छ ।’
म केही सातापछि नेपाल फर्किन्छु र मधेसको समस्या समाधान नहुनजेल नाकामा फेरी धर्ना बस्छु अध्यक्ष महतो थपे, मधेशको माग पुरा नभएसम्म नाकाबन्दी खुल्दैन, हामी वारपारको लडाइँमा छौँ ।
नेपाल फर्केपछि काठमाडौंमा रहनु भएको मधेसी शीर्ष नेताहरुलाई बोलाएर फेरी नाकामा बस्छौँ । सरकारले वार्ताको नाटक मात्र गरिरहेका छन्, । अब मधेसका नागरिक सरकारसँग नगदमा कारोबार गर्छ, उदारो होइन ।
अध्यक्ष महतोले मधेस कसैको उपनिवेश होइन, त्यो कुरा ओली सरकारले बुझ्नुपर्ने बताए । उनले वर्तमान संविधान संशोधनलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि बताए ।
dainiknepal

Write Comment Below: