प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसविनै शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्ता विना निष्कर्ष टुंगिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– वार्तामा कांग्रेस आएन् । ठोस निर्णय केही भएन् । हामीले मानवीय हिसाबले भूकम्प पीडितको राहतका लागि पुनर्निर्माण गठन सम्बन्धि विधेयक अगाडि बढाउन संसद चल्न दिएका हौं । यदि हाम्रो सदासयतालाई कमजोर ठानेर कांग्रेसले भनेको संशोधन प्रस्ताव अगाडि बढाउने प्रयत्न गरिए फेरि संसद अवरुद्ध पार्छाै । कांग्रेस र एमालेले संसद चल्ने विषय टुंगो लगाउनुपर्छ ।’
नेता यादवले यदि मधेसी मोर्चालाई झुक्याएर सरकारले भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण विधेयक छाडेर संसदमा कांग्रेसको संशोधन विधेयक अगाडी बढाए मोर्चाले संसद अवरुद्ध गर्ने चेतावनी समेत दिनुभयो ।
वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मोर्चाका अर्का नेता एवं सदभावना पार्टीका महासचिव मनीष सूमनले मोर्चाको बटमलाईन सीमांकन भएकाले त्यो नटुंगिदासम्म आन्दोलन नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो- सरकार वार्तामा गम्भीर देखिएन् । राज्य पुनःसंरचना नभई समस्या समाधान हुँदैन् ।
आजको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका महासचिव मनीष सूमन लगायतको सहभागिता रहेको थियो ।
dainiknepal
