नेपाल पत्रकार महासघ रुपन्देहीले बुधवार भैरहवामा राखेको मधेस आन्दोलन र नाकाबन्दी सम्बन्धित पत्रकार सुझाव संकलन कार्यक्रममा आफ्ना सुझाव राख्दै वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्ध बिगार्नेगरी केही भारतीय मिडियाले अफवाह फैलाएको जनाउँदै सो कार्यलाई केन्द्रिय स्तरमा नेपाल सरकारले र स्थानीय स्तरमा स्थानीय प्रशासनले पत्रिकाको बिक्री वितरणमा रोक लगाउनुपर्नेमा जोड दिए ।
राससका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका चापागाईले विदेशी डलर र आपराधिक तत्वले सुनियोजित ढंगले साम्प्रदायिकता फैलाएको जनाउँदै भने “बाह्र वर्ष अगाडि गोरखपुरबाट आएको खाटी मधेसी हुने हामी सयौँ वर्षदेखि यहीँ बस्दा पनि मधेसी नभई पहाडिया भईराख्ने यो कस्तो न्याय हो ?” । प्रेस चौतारीका पूर्व केन्द्रिय अध्यक्षसमेत रहेका चापागाईले पत्रकार भएपछि विषयवस्तुमा मात्रै सम्बन्ध राख्नुपर्ने, अनावश्यक रुपमा कसैसँग निकटता र कसैसँग दुरी राख्दा सुरक्षा चुनौती हुने जनाए ।
अर्का वरिष्ठ पत्रकार दिलिप भट्टराईले भारतीय मिडियाले उत्तेजक र भ्रमपूर्ण समाचार प्रकाशन तथा सम्प्रेषण गरेर नेपाली समाजमा विखण्डन ल्याउन खोजेको जनाए । भट्टराईले भने “स्थानीय प्रशासनले विगतमा भारतले नाकाबन्दी गरीरहँदा भारतीय मिडियाहरुले अहिलेजस्तै गरी भ्रम फैलाएका थिए, त्यो अवस्थामा स्थानीय प्रशासनले भारतीय पत्रपत्रिका नेपाल प्रवेशमा रोक लगाएको थियो । अहिले पनि त्यो गर्नु जरुरी छ किनकी भारतीय मिडियाले आगोमा घिऊ थप्ने काम गरेका छन्, द्वन्द्वलाई बढावा दिएका छन् र नेपालको सामाजिक सद्भाव बिथोलिरहेका छन् ।”
सोही अवसरमा अर्का वरिष्ठ पत्रकार नारायण सापकोटाले अतिरञ्जित, भ्रमपूर्ण र कपोकल्पित समाचार प्रकाशन तथा प्रसारण गरेर भारतीय मिडियाहरु नेपालमा साम्प्रदायिक द्वन्द्व मच्चाउन उद्धत रहेको जनाए । सम्पादक समाजका केन्द्रिय उपाध्यक्ष समेत रहेका सापकोटाले कोअर्डिनेसन र कोअपरेशनको खाँचोे रहेको जनाउँदै सीमावर्ती भारतीय पत्रकारहरुलाई नेपालमा निमन्त्रणा गरी वस्तुस्थितिको बारेमा नेपाल पत्रकार महासंघद्वारा तत्काल जानकारी गराउनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका रुपन्देहीका निर्बतमान सभापती दिपक ज्ञवालीले पत्रकार कुनै जाति, धर्म र सांप्रदायिकको पक्ष लाग्न नहुने कुरामा जोड दिएका थिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य समेत रहेका ज्ञवालीले जोखिमपुर्ण क्षेत्रबाट रिपोर्टिङ गर्दा आफै सुरक्षित भएर पत्रकारले काम गर्न आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेरबहादुर केसीले सीमावर्ती क्षेत्र सँधै असुरक्षित रहेको जनाउँदै पछिल्लो समय लामो समयदेखि तराई मधेस बन्द हुँदा स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न नपाएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
मधेसका २२ जिल्लाका पत्रकार महासंघका शाखा अध्यक्षहरुको चितवनमा हुनलागेको भेलाको पुर्बसन्ध्यामा आन्दोलन र नाकाबन्दीको बिषयमा सिमाक्षेत्रका पत्रकारहरु संग छलफल गरिएको हो । उक्त कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुुंगानाले स्वतन्त्र पत्रकारिताको आचारसंहिताभित्र रहेर पनि समाचार लेख्न नसकिएको, सत्य समाचार लेख्दा धम्की खेप्नुपरेको जनाएका थिए ।
सो अवसरमा सीमावर्ती धकधई, भैरहवा, मर्चवार, लुम्बिनी कार्यक्षेत्र भएका पत्रकारहरु नरेश केसी, शंकर पाण्डे, उषा किरण कँडेल, गोपाल बन्जाडे, टिपी भुषाल, शम्भुप्रसाद शर्मा, सम्झना शर्मा, श्यामशंकर पाण्डे, सलमान खान, प्रल्हाद यादव, कमल रायमाझी, राधेश्याम विश्वकर्मा, विरेन्द्र मिश्र, कृष्ण ढकाल, विवेक विश्वकर्मा, संजय गुप्ता, माधव न्यौपाने, सरिना मरासिनी, दिपक घिमिरे, सिपी खनाल लगायतले करिब साढे तीन महिनादेखिको बन्द हड्तालका कारण पत्रकारहरु मारमा परेको, स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न नसकेको, उद्योगधन्दा बन्द हुँदा स्थानीय सञ्चारगृह रेडियो, पत्रिका बन्द हुने अवस्थामा पुगेको, इन्धनको सहज आपूर्ति नहुँदा सहजै आवतजावत गर्न नसकेको तथा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तामा नेपाली मिडियाप्रति सिर्जना भईरहेको नकारात्मक भावनालाई चिर्न नसकिएको जनाएका थिए ।
dainiknepal
