तत्काल देशको समस्या समाधान गर्न डा. बाबुराम भट्टराईको सूत्र यस्ता छन्

काठमाडौं, मंसिर २९ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल देशको समस्या समाधान गर्ने चार बुँदे सूत्र अघि सारेका छन् ।
तराई–मधेसमा जारी आन्दोलन र सीमा नाकामा भारतले गरेको अघोषित नाकाबन्दी अन्त्यका लागि भन्दै भट्टराईले समाधानका सूत्र अघि सारेका हुन् ।
उनले फेसबुक पेजमार्फत ‘चार महिनादेखि तराई–मधेस आन्दोलन, तीन महिनादेखिको अघोषित भारतीय नाकाबन्दी, दुई महिनादेखिको नवगठित सरकारको चीरनिन्द्रा (भित्री सत्ता लुछाचुँडी)को मारमा भूकम्पपीडित लगायत सर्वसाधारण जनता अब थेग्नै नसक्ने जीवनमरणको दोसाँधमा पुगेको, देशको अर्थतन्त्र दशकौं पछाडी धकेलिएको र हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिसमेत गुम्ने खतरा बढ्दै गएको असामान्य गम्भीर स्थितीमा तत्काल निकासका निम्ति’ भन्दै समाधानका उपाय सुझाएका हुन् ।
पहिलो नम्बरमा उनले सरकार र सरकार सम्बद्ध दलहरुले सीमांकन लगायतका सबै समस्या संविधान संशोधनमार्फत प्याकेजमा हल गर्ने ठोस प्रतिबद्धतासहित स्वतन्त्र व्यक्तिहरुको मध्यस्थतामा आन्दोलनकारीहरुसँग गम्भीर र सार्थक वार्ता थालनी गर्नुपर्ने जनाएका छन् ।
त्यस्तै दोस्रो नम्बरमा आन्दोलनकारी शक्तिहरुले आफ्नो माग र आन्दोलन कायम राख्दै आन्दोलनको रुप बदल्नुपर्नेमा उनले जोड दिएका छन् । यसका लागि आमहड्ताल/बन्द र सीमा अवरोधको सट्टा सरकार/प्रशासन केन्द्रीत वा सत्याग्रह प्रकृतिका आन्दोलन गर्न सकिने उनको सुझाव छ । त्यस्तै आन्दोलनको केन्द्र राजधानी बनाउने र सम्झौता नभएसम्म संसद/सदन संघर्ष जारी राख्ने विकल्प उनले अघि सारेका छन् ।
तेस्रो नम्बरमा नागरिक अगुवालगायत सबै समुदाय (खस/आर्य, आदिवासी, जनजाति, मधेसी, थारु) र सरोकारवालाहरुको संयुक्त पहल/नेतृत्वमा राजधानीमा समस्या समाधानमुखी प्रभावकारी सत्याग्रह प्रकृतिका कार्यक्रम गर्ने विकल्प उनले सुझाएका छन् ।
चौथो नम्बरमा उनले भारत सरकारसँग उच्चस्तरीय कुटनीतिक संवाद गर्ने र भारतले अघोषित रुपमा गरेको नाकाबन्दी अघोषित रुपमै फिर्ता लिने उनको सुझाव छ ।
imagekhabar

Write Comment Below: