काठमाडौं: बौद्धका सन्तोष रेग्मी बिहीबार निकै प्रसन्न देखिन्थे। नाकाबन्दीयता सधैंजसो प्रतिलिटर तीन सयदेखि तीन सय ५० रुपैयाँसम्म तिरेको पेट्रोल हालेर मोटरसाइकल गुडाएका उनले अहिले ब्ल्याक मार्केटमा पनि दुई सय रुपैयाँमै पेट्रोल पाएका छन्।
महँगो मूल्य तिरेर भए पनि पेट्रोल किन्नैपर्ने उनको बाध्यता छ। सानोभर्याङस्थित एक निजी कलेजमा होटेल म्यानेजमेन्ट विषय पढाउने उनलाई बिहान ६ बजे कलेज पुगिसक्नुपर्छ।
बौद्धदेखि सार्वजनिक यातायातमा बिहान ६ बजे नै सानोभर्याङसम्म पुग्न निकै कठिन हुने भएपछि तीन सय ५० रुपैयाँ तिरेर भए पनि काम चलाउँदै आएका उनलाई एकजना साथीले गत सोमबार दुई सय रुपैयाँमै पेट्रोल दिने ठाउँ बताइदिएका थिए। सोही अनुसार उनी बल्खुस्थित एउटा छाप्रोमा पुगे, जहाँ उनले साथीले भनेअनुसार नै प्रतिलिटर दुई सय रुपैयाँमै पेट्रोल फेला पारे।
नाकाबन्दीपछि एक लिटरको चार सय रुपैयाँसम्ममा लुकीछिपी पेट्रोल बिक्री गरेका त्यहाँका कारोबारीले अहिले भाउ घटाएर दुई सय रुपैयाँकै दरमा बिक्री गर्न थालेका रहेछन्। तर, दुई सय रुपैयाँमा तेल पाउन न्यूनतम ६० लिटर तेल उठाउनै पर्ने विक्रेताले सन्तोषलाई सुनाए।
६० लिटर एकैपटक उठाउनुपर्ने थाहा पाएपछि उनले आफ्ना साथीहरूलाई त्यहींबाट फोन गरे। साथीहरू दुई सय रुपैयाँका दरले पेट्रोल लिन तयार भएको बताएपछि उनले ६० लिटर तेल लिन तयार भए अनि बुधबार चारजना साथीसहित सोही छाप्रोमा पुगेर मोटरसाइकलमा पेट्रोल भरे, बाँकी तेल जर्किनमा राखेर घरसम्म पुर्याए।
'अब केही समयका लागि ढुक्क भयो । तीन सय ५० रुपैयाँसम्म तिरिरहेको अवस्थामा एक्कासि दुई सयमै पाइँदा त निकै सस्तो अनुभव भइरहेको छ', उनले बिहीबार भने।ब्ल्याक मार्केटमा एकाएक भाउ घट्नुमा नाकाबन्दी खुलिहाल्छ कि भन्ने त्रास मुख्य कारण रहेको यस्तो कारोबारीमा संलग्नहरू बताउँछन्।
आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी खुल्न सक्ने संकेत गरेका कारण ठूलो परिमाणमा नाकाबाट अवैध तरिकाले तेल भित्र्याएर भण्डारण गर्नेहरू डराएका हुन्। यसबाहेक पछिल्ला दिनमा प्रहरीले खानतलासी बढाएकाले अवैध तरिकाबाट तेल ल्याएर भण्डारण गरिरहेकालाई छापामारीको त्रास बढेको छ।
सञ्चारमाध्यममा नाकाबाट अधिक मात्रामा तेल तस्करी भएका समाचार आउन थालेपछि प्रहरीको सक्रियता बढेको छ । नागढुंगा र थानकोटमा प्रहरीले तेल ल्याएका केही बस खानतलासी गरेर नियन्त्रणमा लिएको थियो।
ब्ल्याक कारोबारीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले भाउ घटेको हो। आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी खुल्न सक्ने संकेत गरेका कारण पनि अवैध तरिकाले तेल भित्र्याएर भण्डारण गर्नेहरू डराएका छन्।
तीनथानास्थित एकजना कारोबारीका अनुसार पछिल्लो समय तेल ब्ल्याकमा बेच्ने कारोबारमा लाग्नेको संख्या निकै बढेको छ। तेल कारोबारमा निकै फाइदा हुने थाहा पाएपछि यति बेला फुटकर व्यापार गर्ने धेरैको धन्दा तेलको ब्ल्याक कारोबार भएको छ।
ब्ल्याक मार्केटमा समेत अस्वस्थ प्रतिस्पर्धा बढेकाले पनि भाउ ह्वात्तै घटेको उनी बताउँछन्। काँकडभिट्टा र चितवनको ठोरीबाट अत्यधिक मात्रामा अवैध तरिकाले राजधानीमा पेट्रोलियम पदार्थ भित्रिरहेको उनले सुनाए।
वैध तरिकाले पाउन निकै कठिन भए पनि ब्ल्याक मार्केटमा भने खोजेजति तेल पाइन्छ। सडकमा गुडेका सवारीसाधनको संख्याले पनि यसको पुष्टि गरेको छ।बल्खुस्थित ब्ल्याक मार्केटका अर्का एक कारोबारीका अनुसार राजधानीका विभिन्न पेट्रोल पम्पबाट पनि उनीहरूकहाँ तेल पुग्ने गरेको छ।
'पेट्रोल पम्पमा आएको सबै तेल वितरण नगरी केही हिस्सा ब्ल्याकमा बिक्री गर्ने च्यानल छ। सोही च्यानलमार्फत एक सय ५० रुपैयाँ हाराहारीमा ब्ल्याक मार्केटमा आइपुग्छ, अनि हामी अवस्थाअनुसार दुई सयदेखि माथि मिलाएर बिक्री गर्छौं', उनले भने।
६० लिटरभन्दा कम तेल दुई सय रुपैयाँमा नपाइने उनले बताए। फुटकर कारोबारबाट बेचिसक्न धेरै समय लाग्ने भएकाले तीन सय रुपैयाँभन्दा कममा नदिने गरेको उनको भनाइ छ।
annapurnapost
