काठमाडौँ, १५ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेकाछन् ।
लुम्बिनी–कपिलवस्तु प्रवद्र्धन विश्व अभियानको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले लामो समयदेखि सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने बताए ।
प्रचण्डले भने –“मधेसको समस्या समाधान प्रयासमा छौँ, आशावादी छु केही दिनभित्र समस्याको समाधान हुन्छ, नाकाबन्दी पनि टुङ्गिन्छ ।” उनले वार्ता र संवादबाटै समस्याको समाधान हुने बताए ।
शान्तिका दूत गौतमबुद्ध नेपालमा जन्मिएको भनेर अभियान चलाउनु विश्वभरका नेपालीका लागि गौरवको विषय भएको बताउँदै अध्यक्ष दाहालले विश्वभर रहेका भ्रमलाई चिर्नका लागि अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
गौतमबुद्धबारे अभियान सञ्चालन गर्ने कार्यमा देशभित्र र देश बाहिर केही तहमा अझै हिच्किचाहट बाँकी नै रहेको बताउँदै उनले नेपालीमा रहेको मनोवैज्ञानिक दबाबको अन्त्य हुनुपर्नेमा जोड दिए ।
प्रचण्डले भने – “विश्वभर फैलिएको गलत सूचना सच्याउने अभियानले गति लिएको छ, यो सामान्य प्राविधिक कुरा होइन, हामी सबै नेपालीको पहिचान स्थापित गर्ने कुरा हो, यो पुनित र गौरवशाली काममा सबैको साथ हुनुपर्छ ।”
गौतमबुद्धको जन्मस्थलका विषयमा नेपाल र नेपालीले चालेको अभियान नेपालको पक्षमा हो कसैको विरुद्धमा नभएको बताउँदै उनले भने– “हामीले हाम्रो पक्षमा काम गर्दा कसैले अप्ठ्यारो मान्नु विडम्बना हो, एक्काइसौँ शताब्दीमा यो सुहाउँदैन ।”
कार्यक्रममा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अभियानकै दौरानमा दक्षिण कोरिया र स्विडेनका पाठ्यपुस्तकमा लेखिएका गौतमबुद्धसम्बन्धी पाठ्यक्रम सच्याइएको र अमेरिका एवम् अस्ट्रेलियामा काम सुरु भएको जानकारी दिनुभयो ।
गौतमबुद्ध भारतको उत्तरप्रदेशमा जन्मिएको भनेर लेखिएका पुस्तक विश्वबजारमा रहेकाले यसलाई अभियानकै रुपमा अगाडि बढाइएको उल्लेख गर्दै उनले अभियानबाटै गुगलको नक्सालाई सच्याउन सफल भएको बताए ।
अभियानका अध्यक्ष हरिकुमार श्रेष्ठले विश्व बजारमा रहेका पुस्तक, लेख, चलचित्र र वृत्तचित्रमा रहेका बुद्धसम्बन्धी गलत कुरालाई सच्याउने अभियान निरन्तर चलाएर नयाँ इतिहास बनाउनुपर्ने बताए ।
यस अभियानले विश्वका २२ देशमा सञ्जाल खडा गरेर बुद्धको प्रचारप्रसार गरेको र ८० देशमा अभियान जारी राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा अभियानकै दौरानमा अस्ट्रेलियाको सङ्ग्रहालयमा राख्न लागिएको बुद्धमूर्ति एमाओवादी अध्यक्ष दाहालले सरकारका प्रतिनिधि एवम् परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरे।
अभियानमा लाग्ने कलाकार एवम् अभियन्तालाई सम्मान गर्नुका साथै बुद्धका विषयमा उत्कृष्ट कविता लेख्ने पाँचजनालाई जनही रु १० हजार पुरस्कारसहित प्रशंसा गरिएको थियो ।
nepalsandesh
