चक्रपथ विस्तारको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सन र स्वयम्भू काठमाडौंको हामा आयल प्रालिबीच २०७० साल मंसिर ३० गते भएको इन्धन सम्झौताअनुसार उक्त कम्पनीलाई डिजेल उपलब्ध गराउने प्रयोजनका लागि हामा आयल प्रालिले गत कात्तिक ९ गते निगमको केन्द्रीय कार्यालयमा थानकोट डिपोमा पर्याप्त डिजेल नभएको कारण आफूहरुले संघाई कन्स्ट्रक्सनलाई डिजेल दिन नसकेको र सो कारण चक्रपथ विस्तार कार्य प्रभावित भएकोले निगमको भैरहवा डिपोबाट डिजेल उपलब्ध गराइदिन अनुरोध गर्दै निवेदन पेस गरेको थियो । डिजेल माग गर्दै लाइनमा बसेको हामा आयल प्रालिको उक्त निवेदनमा निगमका कार्यकारी निर्देशक खड्काले कात्तिक १५ गते तोक लगाउँदै भैरहवा डिपोलाई १२ हजार लिटर डिजेल उपलब्ध गराइदिन निर्देशन दिएका थिए ।
निगमबाट निवेदनमा तोक लागिसकेपछि हामा आयलले संघाई कन्स्ट्रक्सनलाई डेलिभरी दिने प्रयोजनको लागि १२ हजार लिटर डिजेल काठमाडौं ल्याउन रुपन्देहीको भलबारी डिपोमा ना४ख ७१४५ नम्बरको ट्यांकर पठाएको थियो । भलबारी डिपोमा करिब १९ दिन पालो कुरेर बसेको उक्त ट्यांकर गत ३ गतेमात्र १२ हजार लिटर डिजेल लिएर काठमाडौंको लागि हिँडेको अवस्थामा नवलपरासीको बर्दघाटबाट प्रहरीले पक्राउ गरेको थियो । स्रोतका अनुसार भलबारी डिपोमा डिजेलको रकम भुक्तानीलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर काठमाडौं हिँडेको उक्त ट्यांकर पक्राउ गराएर कालोबजारीको झूठो प्रचार गरेर चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन र चीन सरकारको बदनाम गराएर चीनसँग निकट भविष्यमा हुने इन्धन सम्झौता रोक्न कार्यकारी निर्देशक खड्काले योजना बुनेको निगम उच्च स्रोतको दाबी छ । उक्त ट्यांकर पक्राउकाण्डमा कार्यकारी निर्देशक ‘आफैँ धामी आफैँ बोक्सी’को भूमिकामा देखिएको निगमका एक निर्देशक बताउँछन् । स्रोतका अनुसार चीनसँग इन्धन आपूर्ति सम्झौता नगरी निजी कम्पनीलाई चर्को मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति गरेर अर्बौँ कुम्ल्याउने योजनामा रहेका खड्काले रुपन्देहीका केही पेट्रोलियम व्यवसायीहरुलार्ई परिचालन गरेर चिनियाँ कम्पनीविरुद्ध अफवाह फैलाउने र आफ्नो स्वार्थपूर्ति गर्ने योजनाका साथ उक्त ट्यांकर पक्राउ गराएका हुन् ।मदन भण्डारीले आजको आर्थिक दैनिकमा खबर लेखेका छन् ।
ratopati
