बैठक बस्ने तयारी भए पनि समय तय नभइसकेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो । ‘दुई दिनदेखि जारी मधेसी मोर्चाको बैठक आज पनि बस्छ । तर समय तय भइसकेको छैन’, उहाँले भन्नुभयो, ‘सरकारसँग वार्ता पनि चलेको छ । आन्दोलनलाई पनि चलाउनु पर्छ । पुरानालाई निरन्तरता दिँदै नयाँ केही कार्यक्रम दिन्छौँ ।’
यसअघि शुक्रबार बसेको मधेसी मोर्चाको बैठकमा आन्दोलन, सरकारसँगको वार्ता, कार्यदलको तयारीलगायतका विषयमा समीक्षा भएको थियो ।
चार महिनादेखि मधेस आन्दोलन गर्दै आएको मधेसी मोर्चाले सरकारसँग सहमति गरेर छिटो अवतरण चाहन्छ । तर सरकारी पक्षबाट भएको ढिलासुस्तीले मधेसी मोर्चाका नेताहरू शसंकित छन् ।
विशेष गरेर सरकार मधेसी मोर्चालाई सहमतिमा ल्याएर मधेस आन्दोलन टुङ्ग्याउनेभन्दा पनि थकाएर आन्दोलन तुहाउने पक्षमा रहेको देखिन्छ ।
यो चाल पाएको मधेसी मोर्चाले यस पटक सहमति नभए मधेस आन्दोलनलाई अर्कै नयाँ तरिकाले उचाइँमा पुगाउन योजना बनाउन सक्ने मधेसी नेताहरूको भनाइ छ ।
dainiknepal
