छुट्टै देश माग्ने सीके राउतका नेतालाई सार्वजनिक मुद्दा

सर्लाही, २५ मंसिर । मधेशलाई छुट्टै देश मागेर पर्चा बाँडदै गरेको अवस्थामा पक्राउ गरेकोे ५ जनालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाएको छ ।
सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठन्धनका केन्द्रीय सहसंयोजक नवलपरासी जिल्ला परासी नगरपालिका–५ निवासी कैलाश महतो नुनिया, सर्लाही संयोजक धर्मलाल राय, जिल्ला संघर्ष समितिका संयोजक सुरेश यादव, प्रचार प्रसार विभाग प्रमुख अखिलेश्वर प्रसाद राय कुर्मी र मधेश मुक्ति अभियानका संयोजक हृदयनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।
पक्राउ गरेका ५ जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक रमेश खड्काले जानकारी दिए ।
विहिबार दिनभर सदरमुकाम मलंगवाका विभिन्न स्थानमा मधेशलाई छुट्टै देश बनाउनुपर्ने लगायत विभिन्न माग अंकित पर्चा बाँड्ने, विचार अभिव्यक्त गर्ने गरिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको र जसमध्ये ६ जना सामान्य कार्यकर्तालाई भने छाडिएको प्रहरीले जनाएको छ ।
राज्य विरुद्धको अपराध अन्तर्गत मुद्धामा कारबाही गर्ने तयारी गरिएपनि म्याद थप, बयान लगायत प्रकृयामा सर्लाहीबाट पटक–पटक विशेष अदालत पठाउन समस्या भएकाले सार्वजनिक अपराध मुद्धामा कारबाही बढाईएको प्रनाउ खड्काले जानकारी दिए ।
dainiknepal

Write Comment Below: