महाधिवेशनका लागि काँग्रेसका तीन नेताकाे यस्ताे छ याेजना

सोमबार, १३ पुष
काठमाडौं । कांग्रेसमा १३औँ महाधिवेशन आउन अब ७० दिन मात्र बाँकी हुँदा शीर्ष नेताहरूले तयारीलाई तीव्रता दिएका छन् ।

अहिलेसम्म सभापतिका लागि नेता शेरबहादुर देउवा र संस्थापनबाट उपसभापति रामचन्द्र पौडेलले उम्मेदवार बन्ने बताइसकेका छन् । तर, वर्तमान सभापति सुशील कोइरालाले आफू अघि बढ्ने कि उपसभापति पौडेललाई अघि बढाउने भन्ने अन्तिम निर्णय लिइसकेका छैनन् ।
यसअघि पनि अन्तिमसम्म नखुल्ने कोइरालाको शैली उस्तै छ भने नेता देउवा र उपसभापति पौडेलले महाधिवेशनको तयारीलाई आक्रामक बनाएका छन् । यी दुवै नेता ‘कस्तो बन्यो संविधान, एकता र सद्भावको अभियान’ अभियान लिएर देश दौडाहामा छन् ।
सभापति कोइराला भने कोठे बैठक गरी रणनीति बनाउनमा केन्द्रित छन् । माघ दोस्रो हप्ताबाट कांग्रेसको महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन सुरु हुनेछन् । त्यसैलाई मध्यनजर गर्दै शीर्ष नेताहरूले आक्रामक रूपमा प्रशिक्षण र भेलाका कार्यक्रमलाई तीव्रता दिएका हुन् ।
भित्री तयारीमा कोइराला
सभापति कोइरालाले सभापतिमा उठ्ने विषयमा मुख खोलिसकेका छैनन्, तर ‘जित्ने मान्छे उठ्नुपर्छ भन्दै’ घुमाएर आफैँ उम्मेदवार बन्ने सन्देश दिइरहेका छन् ।
उनी आफूनिकटका आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडूसँग दिनहुँजसो छलफल गरिरहेका छन् । पछिल्लो समय क्रियाशील सदस्यता छानबिनका लागि संयोजक नरहरि आचार्यले नसघाएको भन्दै ढुंगाना, बडूसहितका नेता उनीप्रति असन्तुष्ट छन् ।
कोइराला संस्थापन महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, महेश आचार्यसँग पनि नियमित सम्पर्कमा छन् । ‘देउवाजी र पौडेलजीजसरी सभापतिजी देश दौडाहामा हुनुहुन्न, तर आन्तरिक रणनीतिमा लागेका बुझेका छौँ,’ कोइरालाले मनोनीत गरेका एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ कोइराला खानदानमा कसरी कांग्रेसको बागडोर राखिराख्ने भन्ने रणनीतिमा हुनुहुन्छ ।’
कोइरालानिकट नेता एवं संगठन विभाग प्रमुख ढुंगाना देउवा र पौडेल आक्रामक भई देश दौडाहामा निस्कँदासमेत आफूहरू जान नसकेको बताउँछन् ।
देउवाजी र पौडेलजी देश दौहाडामा निस्कनुभयो, सभापति कोइराला काठमाडौं बाहिर गए मिडियाले कांग्रेस गैरजिम्मेवार बन्यो भन्छन्, त्यसैले हामी अप्ठ्यारोमा परेका छौँ,’ ढुंगानाले नयाँ पत्रिकासित भने, ‘अब हामी पनि समय मिलाएर निस्कन्छौँ ।’
देउवा आक्रामक प्रचारमा
संस्थापनबाट सभापतिको उम्मेदवार को हुने भन्ने प्रस्ट नभइरहेका वेला अर्को पक्षबाट उम्मेदवारको निश्चितता भएका देउवा पश्चिम नेपालमा नेता–कार्यकर्ता भेटघाटमा छन् । ९ पुसमा कैलालीको धनगढीमा प्रशिक्षण प्रतिष्ठानद्वारा गरिएको अगुवा प्रशिक्षक प्रशिक्षणमा देउवा सहभागी भए । १० पुसमा नेपाल जेसिजको अधिवेशनका लागि कञ्चनपुरको महेन्द्रनगर पुगे ।
गत शुक्रबार शिक्षक संघको प्रशिक्षण र १२ पुसमा प्रजातन्त्रवादी प्राध्यापक संघको क्षेत्रीय भेलामा सहभागी भएका देउवा १३ पुसमा काठमाडौं फर्कने कार्यक्रम छ । भन्नलाई प्रशिक्षणको नाम दिइए पनि देउवा महाधिवेशन तयारीका लागि यस्ता कार्यक्रममा सहभागी भइरहेका छन् ।
विमलेन्द्र निधि, चन्द्र भण्डारी, गगन थापा, एनपी साउद, सुरेन्द्र पाण्डे, रमेश लेखकसहितका नेतासहित देउवा पश्चिम नेपालमा सक्रिय छन् ।
‘प्रशिक्षणको कार्यक्रम पनि हो, तर महाधिवेशन पनि नजिक आइरहेकाले यसैको तयारीस्वरूप उहाँ देशव्यापी दौडाहामा हुनुहुन्छ,’ देउवाका सहयोगी भानु देउवाले भने ।
काठमाडौं फर्किएपछि पनि देउवा रोकिने छैनन् । १५ पुसमा काठमाडौं क्षेत्र नम्बर २ को कार्यक्रममा सहभागी हुनेछन् भने १७ पुसमा विराटगरमा महिला संघको कोसी अञ्चलस्तरीय भेलामा सहभागिता जनाउनेछन् । देउवानिकट नेता डा. प्रकाशरण महतले देशव्यापी माहोल नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने रहेको बताए ।
‘कार्यकर्ता भेटघाटसहित संगठनका काममा जाँदा अब यही नेतृत्वले सम्भव छैन, नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने आमकार्यकर्ताको भावना छ,’ महतले भने, ‘आमकार्यकर्तामा यसपटक देउवाजीलाई दिनुपर्छ भन्ने भावना देखिएको छ ।’
कार्यकर्ता पंक्तिमा यसपटक ‘पार्टी कसरी चलेको छ र कसरी चलाउनुपर्छ’ भन्ने मुद्दालाई स्थापित गर्न पनि नेतृत्व परिवर्तनको माग रहेको दाबी उनले गरे ।
अब क्रियाशील सदस्यताको अन्तिम सूची तयार भई निर्वाचन आयोगले प्रतिनिधि खटाएपछि महाधिवेशनको तयारीले तीव्रता पाउने उनले बताए ।
‘क्रियाशील सदस्यताको अन्तिम टुंगो लागेर सदस्यता गाउँमा पुगेपछि निर्वाचन आयोगले प्रतिनिधि खटाउँछ,’ महतले भने, ‘त्यसपछि महाधिवेशनको तयारी तीव्रताका साथ अघि बढ्छ ।’
विधान संशोधन गरेर लागू गर्न नसकिने भन्दै सामान्य प्राविधिक त्रुटि मात्रै सच्याउने गरी छलफल अघि बढिरहेको उनले बताए ।
‘केन्द्रीय संरचनामा सामान्य फेरबदल हुन्छ, तर केन्द्रीय पदाधिकारी थप्ने कार्यक्रम छैन,’ विधान संशोधन समितिका सदस्यसमेत रहेका महतले भने ।
पौडेलको दौडाहा पनि उस्तै
पार्टी सभापति कोइरालाले मुख नखोले पनि यसपटक सभापति उम्मेदवारका लागि पौडेलले दाबी छाडेका छैनन् । ‘कस्तो बन्यो संविधान एकता र सद्भावको अभियान’अन्तर्गत पौडेलले यसअघि विराटनगर र सुनसरीमा कार्यक्रम गरिसकेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
त्यस्तै, आफैँ नेतृत्वअन्तर्गतको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत नै यस्ता कार्यक्रम भएको उनले बताए । सुरुमा संविधान बुझाउने अभियानअन्तर्गत बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीमा प्रशिक्षण, कार्यकर्ता भेलाको कार्यक्रम गरे ।
पौडेल ‘कस्तो बन्यो संविधानको अभियान’अन्तर्गत सुदूरपश्चिमका जिल्ला सभापति र क्षेत्रीय सभापतिको प्रशिक्षणमा पनि सहभागी भए । यसका लागि उनी ७ गते कञ्चनपुर, ८ गते धनगढी पुगेका थिए ।
९ पुसमा काठमाडौं फर्किएका पौडेलले १० पुसमा पुन: कास्कीमा डेमोक्रेटिक लयर्सको पश्चिमाञ्चल भेलालाई सम्बोधन गरेका थिए । ११ पुसमा अभियानअन्तर्गत स्याङ्जाका तीनवटा निर्वाचन क्षेत्रका क्षेत्रीय सम्मेलनमा सहभागी भए । क्षेत्रीयस्तरको कार्यकर्ता भेलाका लागि १२ पुसमा पौडेल पाल्पा पुगे ।
१३ पुसमा गुल्मीमा, १४ पुसमा अर्घाखाँचीमा, १५ पुसमा कपिलवस्तुमा र १६ पुसमा रूपन्देहीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पौडेलको व्यस्त कार्यतालिका छ ।
काठमाडौं आएपछि पौडेलको पूर्वाञ्चल जाने कार्यक्रम रहेको अधिकारी बताउँछन् । ‘संविधान जनतालाई बुझाउने विषय पनि छ । सँगै महाधिवेशको तयारीका लागि कार्यकर्ता भेटघाट गर्ने पनि भइरहेको छ,’ उनले भने ।
पौडेलनिकट भई काम गरिरहेका एक कांग्रेस नेता यसपटक उनले उधारो सम्झौता नगर्ने बताए । ‘यसअघि पौडेलजीले संस्थापनमा बसेर गिरिजाबाबुदेखि सुशीलजीसम्मलाई सहयोग गर्दै आउनुभयो,’ ती नेता भन्छन्, ‘तर, यसपटक उहाँ उधारो सम्झौता मानी त्यत्तिकै छाड्ने पक्षमा हुनुहुन्न । उहाँको दाबी सभापतिकै उम्मेदवार बन्नेमा हुनेछ ।
nepalsandesh

Write Comment Below: