काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरीको कुटपिटबाट घाईते नभएको दावी गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग सोमबार भएको छलफलमा उनले महतोसहितका नेताहरु जोगबनीबाट नाराबाजी गर्दै आएको र प्रहरीले रोक्ने क्रममा झडप भएपनि महतोलाई कुटपिट नगरेको दावी गरेका हुन् ।
नाकामा आएका आन्दोलनकारीलाई हट्न प्रहरीले पटक पटक आग्रह गर्दापनि नमानेको बरु उल्र्ट भारतीय भूमिमा गएर नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुडा गरेको बस्नेतले बताए ।
सोही क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठी चार्ज गरेको उनले बताए । ‘आन्दोलनकारीले पारी गएर ढुंगा हानेका थिए, पछि महतो घाइते भएको भन्दै एम्बुलेन्समा ल्याइयो । आन्दोलनकारीको ढुंगा लागेर घाइते भए कि भारतीय प्रहरीको लाठी लागेर अझै पत्ता लागेको छैन ।’
गृहमन्त्री बस्नेतले महतोको अवस्था गम्भीर नरहेको समेत जानकारी दिए । शनिबार विराटनगरको रानी भन्सारमा धर्ना दिने क्रममा महतो घाइते भएका थिए । सोही विषयमा आयोगले गृहमन्त्रीलाई कार्यलयमै बोलाएर छलफल गरेको हो ।
आयोगले गृहमन्त्री बस्नेतसँग मधेस आन्दोलन, मानवअधिकारको रक्षा लगायतका विषयमा झण्डै २ घन्टा छलफल गरेको थियो ।
उनीहरुले आन्दोलनका क्रममा खटिएका सुरक्षाकर्मीहरुको अवस्थाबारे समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
६०० सुरक्षाकर्मी भएको ठाउँमा ३०० मात्र खाट रहेको, पालैपालो सुत्नुपर्ने अवस्था रहेको, १२ देखि १४ घन्टासम्म काममा खटाइएको भन्दै उनीहरुको मानवअधिकार रक्षा गर्न आयोगले ध्यानाकर्षण गराएको छ ।
nepalsandesh
