महन्थ ठाकुर भन्छन्- अब छिट्टै आन्दोलन रोक्छौं

काठमाडौँ, १३ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेसको माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने बताउनुभएको छ ।
पार्टीको आठौँ स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तलन गर्दै उहाँले आफूहरुले राखेका मागको प्रत्येक बुँदामा छलफल गरी सहमति निकाल्न सके आन्दोलन रोकिने बताउनुभयो । “तराई-मधेसले राखेको बुँदागत मागको प्रत्येक बुँदामा छलफल गरौँ, जुन बुँदामा सहमति हुन्छ, त्यहीँबाट समाधान खोजौँ”-अध्यक्ष ठाकुरले भन्नुभयो ।
औपचारिक रुपमा सरकारले तीनबुँदे प्रस्ताव मन्त्रिपरिष्दबाट पारित गरेपछि कुनै संवाद नभएको भन्दै उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) सँग वार्ता जारी भए पनि निष्कर्ष निकाल्न नसकिएको बताउनुभयो ।
“अहिलेको मधेसको आन्दोलन जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहनामा छौं”–अध्यक्ष ठाकुरले थप्नुभयो । उहाँले तराईको समस्या समाधान गर्न बल प्रयोग नभई जायज मागको सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal

Write Comment Below: