काठमाण्डौं । बुधवार राती त्रिभुवन विमानस्थलमा ओर्लने वित्तिकै उपेन्द्र यादवले भने, “नेपालको राजनैतिक समस्या नेपालीको समस्या हो, यहाँका समस्या यहिं कै समस्या हुन् । समाधानको पोको लिन दिल्ली गएका थिएनौं । यसलाई नेपाल कै राजनैतिक दलहरुले समाधान गर्ने भएकोले अब यहिं हल गर्छौं ।”
भनिन्छ कि ठक्कर खाएपछि बुद्धि पलाउँछ । अहिले राजनैतिक वजारमा मधेशलाई पहाडवाट अलग गर्न चाहने महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो तथा महेन्द्र यादव जस्ता नेताहरुले दिल्ली गएर ठक्कर खाएपछि उनीहरु मध्ये केहीको बुद्धि पलाएको हुनु पर्दछ भन्ने चर्चा चलेको छ ।
देश भित्रको समस्या समाधानका लागि यस पटक ओली प्रचण्ड र कमल थापाहरुले पनि भारतलाई गुहारेको प्रष्ट भएको छ । ओली प्रचण्ड सल्लाह गरेर कमल थापालाई दिल्ली पठाइ भारतीय विदेश मन्त्री सुष्मा स्वराज संग गोप्य सम्झौता गरेको स्पष्ट भैसकेको छ ।
उक्त सम्झौता अनुसार नेपाल सरकारले कांग्रेश सरकारको वेला वनेको संविधान संशोधन विधेयक संसदमा लगेर पारित गर्ने, राजनैतिक समिति वनाएर तीन महिना भित्र सीमांकन टुंग्याउने र मधेश आन्दोलन तथा नाकावन्दी फिर्ता लिने छन् ।
नाकावन्दीको वारेमा भारत अन्तराष्ट्र्रिय रुपमा वदनाम हुन थालेको, भारत भित्रै पनि नाकावन्दीको विषयलाई लिएर चर्को विरोध शुरु भई मोदी सरकार वदनाम र एक्लिन थालेकोले गर्दा मोदी सरकारले नाकावन्दी लामो समय जारी राख्न सम्भव थिएन । त्यसैले दिल्ली सरकार यसमा विचको वाटो निकाल्न वाध्य वन्दै थियो ।
नेपाल सरकारमा रहेका दलहरुले सीमांकन अहिले नै छिनोफानो गर्न नसक्ने भनेकोले सीमांकनलाई राजनैतिक समिति वनाएर तीन महिनामा टुंगो लगाउने गरी विचको वाटोमा दिल्ली संग कमल थापा स्वयम् दिल्ली गएर तथा फोनमा ओली र स्वराज विच कुरा भई सम्झौता भयो ।
नेपालको आन्तरिक मामिलामा दिल्ली दरवारलाइ गुहारेर मधेशी मोर्चाले नाकावन्दी गराएको नांगो दलालीले नेपालको राजनीतिमा दलालीको अर्को आयाम थपेको थियो । ओली प्रचण्ड र कमल थापाहरुले पनि दिल्ली संगै झुकेर दिल्लीलाइ नेपालको आन्तरिक मामलामा नांगो हस्तक्षेपलाई मान्यता दिंदै दिल्लीमा थापाले सम्झौता गरी नयाँ रोडम्याप वनायो । यो तरिका पनि दिल्लीको दलाली नै थियो ।
यस नयाँ राजनैतिक रोडम्यापमा मधेशी मोर्चाले भन्दै आएको सीमांकनको माग अहिले नै पुरा नगरिएकोले मधेशी मोर्चाका नेताहरु तत्कालका लागि पराजीत भएको महशुस गरे । त्यसपछि उनीहरु सबै दिल्ली दौडाहामा गए ।
तर दिल्ली पनि नाकावन्दीको वदनामीका कारण समस्यामा थियो । तसर्थ दिल्लीले मधेशी मोर्चाका नेताहरुलाई तीन महिना कुर्न निर्देशन दियो । मधेशी मोर्चाका नेताहरु अहिले रुझेको विरालो जस्तै गरि दिल्लीवाट फर्केका छन् ।
दिल्ली संग साँठगाँठ गरेर नेपालका जनता विरुद्ध अमानविय नाकावन्दी गरेका मधेशी नेताहरु अहिले अप्ठेरोमा फँसेका छन् । अहिले भन्दैछन् कि नेपालको समस्या नेपालीले नै हल गर्ने हो । दिल्ली दरवारले उचालेर पछारेपछि अहिले चिच्याउँदैछन् र नेपाली गाना गाउन लागेका छन् ।
nepalsandesh
