धनगढी। नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारू र पहाडी समुदायले आपसमा मिलेर बस्नुको विकल्प नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा नेता देउवाले कैलाली, कञ्चनपुरमा बसाइँ सरेर पहाडबाट आएका पहाडी र दाङबाट आएका थारू अब पुरानै स्थानमा जान नसक्ने भन्दै सबैले एकआपसमा मिलेर बस्नुपर्ने बताए ।
आफ्नै नेतृत्वको सरकारले कुप्रथाका रुपमा पश्चिम तराईमा व्याप्त रहेको कमैया प्रथाको अन्त्य गरेको स्मरण गराउँदै देउवाले थारूलाई नपुगेको अधिकार दिन आफूले पहल गर्ने बताए ।
हालको सीमाङ्कनप्रति असहमति राखेर कैलाली कञ्चनपुरलाई थरुहट प्रदेशमा समेटेर प्रदेश निर्माण हुनुपर्ने माग गर्दै थरुहटको आन्दोलन लामो समयदेखि जारी रहँदा देउवाले यो धारणा राखेका हुन् ।
संविधान सशोधनका लागि काँग्रेसको पहलमा दर्ता भएको संशोधन प्रस्ताव पारित भएमा माग सम्बोधन हुने भन्दै उनले आन्दोलनरत पक्षलाई वार्तामा आई समस्याको समाधान खोज्न आग्रह गरे । आसन्न काँग्रेसको महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिनु हुन्छ कि भन्ने प्रश्नमा उनले प्रष्ट भन्न चाहेनन् ।
nepalsandesh
