काठमाडौं । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने भनिएपनि त्यसलाई चुनौती दिँदै जम्बो मन्त्रिपरिषद बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्णता पाएकोले अब जनताले महसुस गर्नेगरी काम गरिने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनचाहना अनुरुप सरकारले काम गर्न नसकेको स्वीकार समेत गरे ।
उनले सरकारले पूर्णता पाएकाले अब काम गर्न सजिलो हुने दावी गरे ।
उनले भूकम्प पीडितहरुका लागि तत्कालीन र दीर्घकालीन योजना सहित व्यवस्था मिलाउने र आपुर्ति व्यवस्था केही दिन भित्रै सहज बनाउन सरकार लागिपरेको दाबी समेत गरे ।
प्रधानमन्त्री ओलीले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै नेपालको संविधान विश्वकै गतिशील संविधान भएको बताए ।
ओलीले आन्दोलनका नाममा अराजक गतिविधि गर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने बताउँदै मधेसी मोर्चासँग गम्भीर वार्ता चलिरहेकोले चाँडै सहमति हुने विश्वास व्यक्त गरे ।
nepalsandesh
