मधेसी मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ

१२ पुस, रौतहट । विराटनगरमा सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई आक्रमण गरी घाइते बनाएको विरोधमा मधेसी मोर्चाका नेता-कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गरेका छन् ।
कार्यालयको मूल ढोका मै उनीहरुले बसेर विरोध प्रदर्शन गरेपछि कर्मचारीहरु भित्र प्रवेश गर्न पाएका छैनन् । मोर्चाको अवरोधकै बीच सामान्य बल प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी नरहरी बराल सुरक्षा प्रमुखहरुसँगै कार्यालयमा प्रवेश गरेका थिए । मूल ढोकामा बसेका प्रदर्शनकारीहरुलाई हटाउँदै सुरक्षाकर्मीले प्रजिअ बराललाई कार्यकक्षमा पुर्‍याएका थिए । प्रजिअ बराल कार्याकक्षमा पुगेपछि पुनः प्रदर्शनकारीहरु मूल ढोका मै धर्नामा बसेका छन् ।
उनीहरुको अवरोधका कारण सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीलगायतका अरु कर्मचारीहरु भने कार्यालय प्रवेश गर्न पाएनन् । कर्मचारीहरु प्रवेश गर्न नपाएपछि सेवाग्राहीहरु पनि मारमा परेका छन् ।
महतोमाथि आक्रमण भएको विरोधमा मधेसमा रहेका प्राय सरकारी कार्यालयहरु बन्द रहे पनि जिल्ला प्रशासन कार्यालय रौतहट भने खुल्लै छ ।

यता संघीय समावेसी गठबन्धनले आइतबार सदरमुकाम गौरमा भैंसी जुलुस प्रदर्शन गरेको छ । गौरको ‘मधेसी क्रान्ती’ चोकबाट शुरु भएको भैंसी जुलुसले नगरपरिक्रमा गरेको थियो । जुलुसमा सहभागी मोर्चाका कार्यकर्ताहरुले सरकार विरोधी नाराहरु लगाएका थिए । जारी मधेस आन्दोलनप्रति सरकार गम्भीर नभएको र उल्टै मोर्चाका शीर्ष नेताहरुलाई निशाना बनाएर दमन गरेकोमा उनीहरुले आक्रोश पोखेका थिए ।
रौतहटको मध्य बजार गरुडामा पनि मोर्चा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले गरुडामा लाठी जुलुस निकालेका छन् ।
महतोमाथि आक्रमण गरेको विरोधमा मोरङ, सप्तरीलगायतका जिल्लाहरुमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार विरोध प्रदर्शन गरेका छन् । सप्तरी सदरमुकाम राजविराज, हनुमाननगर, भारदह, गजेन्द्र चोक, जनआन्दोलन चोकलगायतका क्षेत्रमा मोर्चा कार्यकर्ताहरुले बिहानैदेखि प्रदर्शन चर्काएका हुन् ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below: