‘सात प्रदेशको सीमांकनमा एक इञ्च पनि तलमाथि हुँदैन्’

कञ्चनपुर, १० पुस । व्यवस्थापिका–संसद्का सांसद कृपा रानाले राज्यको संरचनामा कुनै हेरफेर हुन नसक्ने बताउनु भएको छ ।
आज झलारी पिपलाडी नगरपालिकाको असैनास्थित शिव मन्दिरमा जनश्रमदानका लागि पुग्नुभएका सांसद रानाले मौजुदा सात प्रदेशको सीमाङ्कनमा हेरफेर हुन नसक्ने बताउनुभयो ।
प्रदेशको सीमाङ्कनमा किचलो झिक्ने कार्यमा बाह्य शक्तिको चलखेल भएको उल्लेख गर्दै उहाँले जनता जनताबीच फुट गरेर सङ्घीयता आगाडि बढाउन नदिने षडयन्त्र भइरहेको बताउनुभयो ।
मधेसको समस्या समाधानका लागि वार्ता र छलफलका कार्य सन्तोषजनक रुपमा अगाडि बढिरहेकाले छिट्टै समाधान हुने उहाँले बताउनुभयो । “वर्तमान संविधानमा सबै जातजातिका अधिकारका बारेमा प्रस्टसँग उल्लेख गरिएकाले यो संविधान आपनत्व भएको संविधान हो”, उहाँले भन्नुभयो ।
स्थानीय बासिन्दाले रु सात लाख बढी चन्दा सङ्कलन गरी निर्माण भइरहेको मन्दिरमा सांसद रानाले दुई घन्टा श्रमदान गर्नुभएको छ । उहाँले मन्दिर निर्माणमा सघाउ पु¥याउन रु १५ हजार चन्दासमेत प्रदान गर्नुभएको छ ।
dainiknepal

Write Comment Below: