मधेसमा फेरि जन्मियो नयाँ मोर्चा, अन्तिम समयमा मात्रिका सम्पर्कविहिन

काठमाडौं– मधेस आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन भन्दै चार वटा मधेस केन्द्रीत दलको नयाँ मोर्चा जन्मिएको छ । यसअघि नै फरक तीन मोर्चामा आवद्व फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मधेस समाजवादी पार्टीका अध्यक्ष शरत सिंह भण्डारी र नेपाल सद्भावना पार्टीका अनिल झा र तराई मेधसमा ‘तराई मधेस राष्ट्रिय अभियान चलाउँदै आएका जेपी गुप्ता मिलेर नयाँ मोर्चाको गठन गरेका हुन् ।
गुप्ताको अगुवाईमा गठन भएको संघीय समावेश गठबन्धन नामक मोर्चाले संयुक्त रुपमा अघि बढ्दा मधेस आन्दोलनलाई निश्कर्षमा पुर्याउन सम्भव हुने ठहर गरेको छ ।

आज जनकपुरमा बसेको बैठकबाट नयाँ मोर्चा बनाएर अघि बढ्ने निर्णय भएको भएपनि झा, यादव र भण्डारी तथा गुप्ताको आफ्नै मोर्चा यसअघि नै अस्तित्वमा रहेको छ । झाको संघीय मधेसी मोर्चा रहेको छ भने राजकिशोर र भण्डारीको संघीय लोकतान्त्रिक मोर्चा रहेको छ । यस्तै गुप्ताको आफ्नै अभियान तराई मधेस राष्ट्रिय मधेस रहेको छ ।
नयाँ मोर्चा गठन गरेर अघि बढ्ने निर्णय भएपनि औपचारिक घोषणा भने भोलि वीरगञ्जमा हुने कार्यक्रमबाट हुने बताइएको छ ।

यसैबीच सो मोर्चामा नेकपा माओवादीका संयोजक मातृका यादव पनि सहभागि हुने तय भएको थियो । तर, अन्तिम समयमा आएर मातृका सम्पर्कविहिन हुन पुगेको नयाँ मोर्चामा आवद्व एक नेताले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार हिजो राती भएको अनौपचारिक छलफलमा मातृका पनि मोर्चामा आवद्व हुने तर त्यसका लागि मोर्चा एक मधेस एक प्रदेशको नीतिमा सहमत हुनुपर्ने उनले अडान राखेका थिए । यसविषयमा आज अन्तिम निर्णय गर्ने भनि राती छुटिएका मातृका आज भने सम्पर्कमा नआएका हुन् ।
उनलाई मोर्चाका नेतृत्वकर्ता जेपी यादवले पटक पटक सम्पर्कमा गर्दा पनि सम्पर्कमा नआएको बताइएको छ ।

नयाँ मोर्चाले आन्दोलनलाई प्रभावकारी बनाउन अरु मधेस केन्द्रीत दलसँग पनि छलफल गरेर सहकार्य गर्ने सोच राखेको राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले जानकारी दिए ।

www.ratopati

Write Comment Below: