पछिल्लो पटक आन्दोलनको क्रममा सप्तरीमा ४ जना मारिएपछि वीरगञ्जबाट बुधबार सप्तरी आएका अध्यक्ष महतोले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । ‘सत्तासीन दलसित संविधान संशोधन र प्रदेश सिमांकनको छिनोफानो गर्ने शक्ति छैन,' अध्यक्ष महतोले भने, ‘यसका लागि प्रमुख प्रतिपक्षी कांग्रेसको सहभागित अनिवार्य छ, त्यसैले अब कांग्रेस बिनाको वार्ता सरकारसित गर्नुको पनि कुनै औचित्य छैन ।’ सार्थक वार्ताका लागि सरकारले कांग्रेससित पनि प्रदेश सीमांकनसहित सरकारलाई मोर्चाले बुझाएको ११ सुत्रीय मागमा एउटै विचार हुनु आवश्यक भएको अध्यक्ष महतो भनाइ छ ।
मधेसमा तीन महिना बढीदेखि जारी रहेको आन्दोलन अधिकार प्राप्तिको भएकाले यो कुनै जातीय विशेष नभएको प्रष्ट पार्दै अध्यक्ष महतोले भने, ‘जसरी पहाडमा विपत्ति आउँदा तीन दिनमै मलम लगाउन मधेसी समुदाय पहाड पुगेका थिए, तर अहिले तीन महिनादेखि आन्दोलनमा प्रहरी ज्यादतीको चरम शिकार खेपिरहेको मधेसी समुदायको घाउमा मलम लगाउन किन पहाडका, काठमाडौंका बासिन्दा पछाडि परेको ?’ उनले भने, 'कतिबेला काठमाडौं र पहाडका बासिन्दा मधेसमा मलम लगाउन आउँछन् भनि आम मधेसीको प्रतिक्षा गरेर बसेका छन् ।
सरकारले मधेस आन्दोलनलाई सम्बोधन नगरी मधेस मात्रै नभई पहाड र हिमालका बासिन्दालाई पनि विभिन्न समस्यामा पारेको बताउँदै वर्तमान उनले सरकारको खोक्रो राष्ट्रवाद र भारतविरोधी भावनाले सरकारमा धेरै दिन टिक्न नसक्ने ठोकुवा गरे ।
आन्दोलनलाई अझ दमन गर्न सरकारको दबाव बाबजुद नेपाली सेना मधेसमा परिचालन नभएको प्रति नेपाली सेनालाई धन्यवाद दिँदै अध्यक्ष महतोले भने, ‘नेपाली सेना आम नेपालीको रक्षाकवच हो, सेना भनेको कुनै जाती विशेषको हुँदैन्, सिङ्गो राष्ट्रको हुन्छ, सेनाको निर्णयलाई मोर्चाको तर्फबाट म स्वागत गर्छु ।’
kantipur.ekantipur
