मधेसी मोर्चाका शीर्ष नेताहरुलाई किन बोलाइयो बालुवाटार ?

काठमाडौं, १३ मंसिर । मधेसी मोर्चाको आन्दोलन र मागका विषयमा वार्ता गर्न प्रधानमन्त्री केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई बालुवाटार बोलाउनु भएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयबाट वार्ताका लागि निम्तो दिन आज (आइतबार) फोन गरेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री कार्यालयबाट भोलि सोमबार एघार बजे वार्ताका लागि भनेर मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘सायद मधेसी मोर्चासँगको वार्ता र मागका विषयमा छलफल गर्न बोलाइएको हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भोलि सोमबार एघार बजे बालुवाटार आउन निम्तो पठाउनु भएको हो ।
वार्तामा कुन कुन दल सहभागी हुने हुन् त्यस विषयमा स्पष्ट केही बताइएको छैन । स्रोतका अनुसार प्रधानमन्त्रीका साथै एमाले, एमाओवादी, नेपाली कांग्रेस र मधेसी मोर्चाबीच वार्ता हुनेछ ।
सोहीअनुसार तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
वार्ताका लागि सरकारी पक्षको निम्तो आए पनि मधेसी मोर्चाले सोमबारको वार्तामा जाने की नजाने भनेर कुनै निर्णय गरिसकेको छैन ।
यस विषयमा विराटनगरमा रहेका मधेसी मोर्चाका शीर्ष नेताहरुले बैठक गरेर प्रधानमन्त्री ओलीलाई खबर पठाउने सन्देश दिइएका छन् ।
आमसभाका लागि मधेसी मोर्चाका तीन शीर्ष नेताहरु विराटनगर पुगेका छन् । विराटनगरमा रहने नेताहरुमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव हुनुहुन्छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर भने बिरामी भएकाले भक्तपुरस्थित निवासमा बस्दै आउनु भएको छ ।
dainiknepal

Write Comment Below: