'नेपालमा हस्तक्षेप रोकौं'

मोदीलाई भारतीय सांसदको आग्रह
काठमाडौं: भारतका एक प्रमुख सांसदले भारतले नेपालमाथि लगाएको 'अनौपचारिक' नाकाबन्दीका कारण अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा आधारभूत मानवअधिकारको स्पष्ट रूपमा उल्लंघन भएको बताएका छन्।


केही दिनअघि परिवारसहित बिदा मनाउने क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका सांसद तथागत सत्पथीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पठाउँदै नेपालमा आमजनतामा फैलिएको भारतप्रतिको नकारात्मक धारणाबारे सचेत गराएका छन्। 'भूकम्पबाट थिल्थिलिएको नेपालले भारतबाट महत्वपूर्ण सहयोगको अधिकार राख्छ। तर भारतले अहिले जे गरिरहेको छ त्यो स्पष्ट रूपमा आधारभूत मानवअधिकारको उल्लंघन हो,' सत्पथीले उल्लेख गरेका छन्।

'हामीले नेपालीलाई थिल्थिलो पारेका छौं र नेपाली आमजनता भारतविरोधी बनेका छन्। सरदर नेपाली नागरिकको अवस्था हेर्दा उनीहरूलाई पेट्रोलको लामो लाइन, अवरुद्ध सार्वजनिक यातायात, औषधि र चिकित्सासम्बन्धी आधाभूत पूर्वाधार बन्द हुँदा उत्पन्न परिणामले स्वाभाविक रूपमा आक्रोशित गराएको छ,' सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन्।

पत्रमा उनले 'नेपाल एउटा भूपरिवेष्टित मुलुक भएकै आधारमा भारतले ठूल्दाइको रबैया देखाउँदै अत्यावश्यक वस्तुहरूको आपूर्ति बन्द गर्नुपर्ने हो र?' भनी प्रश्न गरेका छन्।नयाँदिल्लीबाट अन्नपूर्णसँग टेलिफोनमा कुराकानी गर्दै सत्पथीले प्रधानमन्त्री मोदीलाई आफूले लेखेको पत्रको जबाफ पाइनसकेको बताए।

‘मोदीजीबाट मैले पत्रको जबाफ पाएको छैन। तर नेपालभित्रको यथार्थ स्थितिबारे मोदीजीलाई जानकारी गराउन पाएकोमा म खुसी छु', उनले भने ।
मोदीलाई लेखेको पत्रमा सांसद सत्पथीले भनेका छन्, 'तपाईं स्वयंले पनि केहीअघि नेपाल भ्रमण गर्नुभएको हो र हाम्रो दुई देशबीचको साझा इतिहासबारे तपाईंलाई जानकारी नै छ। तर अहिले त्यो मुलुकसँग हाम्रो निकै पुरानो सम्बन्ध समाप्त हुने चरणमा पुगेको छ।'

सत्पथीले भारतीय प्रधानमन्त्रीलाई विदेश मन्त्रालयका कर्मचारीबाट नेपालमा शान्ति तथा सुखको वातावरण छ भनेर रिपोर्ट पाइरहेको भएदेखि त्यसमा कुनै सत्यता नरहेको भन्दै कर्मचारीसँग विश्वास नगर्न पनि सुझाएका छन्।'मेरो आशंका छ नेपालप्रति हाम्रा कर्मचारीहरूका आफ्नै पूर्वाग्रह र स्वार्थहरू छन्,' पत्रमा छ।

पोखरास्थित आफू बसेको होटलका 'वेटर'लाई उद्धत गर्दै सत्पथीले भारतीयहरूले अक्सर रूपमा नेपालीमाथि दुव्र्यवहार गर्ने गरेको उल्लेख गरेका छन् । ती वेटरले भारतीयहरूको सेवा कहिल्यै गर्नु नपरोस् भन्ने महसुस गरेको आफूसँग बताएको समेत उनले पत्रमा लेखेका छन्।
 मेरो आशंका छ नेपालप्रति हाम्रा कर्मचारीहरुका आफ्‍नै पूर्वाग्रह र स्वार्थहरु छन्।-तथागत सत्पथी,भारतीय सांसद्
सत्पथीका अनुसार ती वेटरले भारतीयहरूले नेपालीलाई दासको व्यवहार गर्दै आदेश दिने गरेकोमा असन्तुष्टि जनाएका थिए। भारतसँगको सम्बन्ध सम्पूर्ण रूपमा अन्त्य गरेर चीनसँग सम्बन्ध बलियो गरेको खण्डमा आफू खुसी हुने ती वेटरले सत्पथीसँग बताएको उनले लेखेका छन्।

‘यस्तो खालको बुझाइ मैले नेपालका आमव्यक्तिसँगको साक्षात्कारबाट पाएको हुँ। यसले गर्दा नै भारतसँग सबै सम्बन्ध समाप्त गरी चीनसँगको सम्बन्ध सुदृढ गर्ने चाहनासमेत उनीहरूमा देखापरेको छ,' पत्रमा भनिएको छ।

सत्पथीले अगाडि लेखेका छन्, ‘सामान्य व्यक्तिका धरातलीय बुझाइलाई म कहिल्यै पनि अवमूल्यन गर्न चाहन्नँ। ती सामान्य व्यक्तिहरू सम्भवतः हाम्रा प्रशासकभन्दा विदेशनीतिबारे बढी जानकारी राख्छन्।' भारत सरकारका वरिष्ठ र जिम्मेवार अधिकृतहरूसँग नेपालको अहिलेको अवस्थाबारे आफूले सोधेको तर प्रतिक्रिया नमिठो पाएको उनले लेखेका छन्।

‘संविधानका मौलिक विषयबारे हामीसँग नसोधी नेपालीले कसरी परिवर्तन गर्ने आँट गरे?' भन्दै खिन्न र अप्रसन्न खालको प्रश्न उल्टै भारत सरकारका वरिष्ठ र जिम्मेवार अधिकृतहरूबाट पाएको सत्पथीले लेखेका छन्।

मोदीलाई प्रतिप्रश्न गर्दै सांसद सत्पथीले भारतीय वरिष्ठ र जिम्मेवार अधिकृतहरूले के नेपालकै शैलीमा बंगलादेश र बर्माबारेमा पनि सोध्न सक्छन् भनेका छन् । ‘अझै पाकिस्तान र श्रीलंकाको त टाढाको कुरा भयो,' पत्रमा छ। 'हिजोसम्म भारतलाई मित्रराष्ट्र मान्ने सार्वभौम मुलुक नेपालले हामीलाई हस्तक्षेपकारी (बुली) भनेको कसरी राम्रो लाग्ला?' पत्रमा छ।

नेपालीहरूको यसपालिको दसैं कष्टपूर्ण हुनुमा भारत मुख्यतः जिम्मेवार रहेकोसमेत उनले लेखेका छन्। 'वास्तवमै हामीले एउटा कालो र पीडादायी दीपावली नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भोग्न बाध्य पार्‍यौं। केही अहंवादी हाम्रा विदेश मन्त्रालयका कर्मचारी र सल्लाहकारका कारण नेपालसँगको सम्बन्ध तितो बन्न पुगेको छ कुनै तुकबिना,' सत्पथीको पत्रमा छ।

मधेस केन्द्रित दलहरूको केही विरोधलाई समग्र बहाना बनाएर स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामिलालाई निर्देशित गर्ने दृष्टिकोणले दीर्घकालीन रूपमा भारतलाई नै क्षति पुर्‍याउने भन्दै उनले मोदीलाई सचेतसमेत गराएका छन्।सत्पथी उडिसाको प्रतिष्ठित राजनीतिक परिवारका सदस्य र त्यहाँकी पूर्व मुख्यमन्त्री नन्दिनी सत्पथीका छोरा हुन्।

सत्पथी उडिसाको ढेक्कानल निर्वाचन क्षेत्रबाट लोकसभामा लगातार चौथोपटक प्रतिनिधि बनेका छन्।'हामीले बुझ्नुपर्छ कि संसारका सबै संविधान जनताको चाहनाअनुसार अनुकूल समयमा संशोधन हुने गर्छन्। नेपालका मधेसीको अहिले प्रशासनमा उपस्थिति छ र उनीहरू आफ्ना अधिकारबारे माग उठाउनुपर्छ र भारत त्यसबाट टाढा रहनुपर्छ र रहेको आफूलाई देखाउनुपर्छ,' सत्पथीको पत्रमा छ।

भारतले स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामिला र प्रजातान्त्रिक मान्यतालाई सम्मान गर्नुपर्ने उनले पत्रमा उल्लेख गरेका छन् । चीनले नेपालसँग अल्पकालीन रूपमा इन्धन उपलब्ध गराइदिने समझदारी गरिसकेको भन्दै त्यसबारे पनि उनले मोदीलाई अवगत गराएका छन्।

नेपालको विदेशी मुलुकसँगको कुल व्यापारमध्ये ६० प्रतिशत भारत र १३ प्रतिशत चीनसँग रहेको उल्लेख गर्दै उनले यतिबेला नेपालसँगको व्यापार आफूतिर बढी अनुपातमा चीनले बनाउन खोजिरहेको लेखेका छन्।

'नेपाल-भारतबीचको अहिलेको चिसिएको सम्बन्धले गर्दा नेपालसँग व्यापार बढाउने चीनको प्रयासलाई सघाउ पुगेको छ,' पत्रमा छ।सत्पथीले मोदीलाई हिमालयले चीन र नेपालबीच व्यापार गर्न अवरोध गर्छ भन्ने लागेको भए त्यो सोचाइ गलत रहेको लेखेका छन्।

चीन केही महिनामा अत्यन्तै विकट पहाडी इलाकाहरूमा बहुलेनयुक्त राजमार्ग बनाउन सफल भएको देखिएको उनले पत्रमा उल्लेख गरेका छन् । ‘चीनको दृढता र विकसित प्रविधिको उदाहरण सिक्किमसँग जोडिएको सीमामै देख्न सकिन्छ।

जहाँ उनीहरूले रेलवे सञ्जाल विस्तार गरिरहेका छन् जब कि हामी भारतीयहरू आफ्ना उच्च पहाडी क्षेत्रका एकल—लेन सडक व्यवस्थित गर्नमै लागिरहेका छौं,' उनले लेखेका छन्।

सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई नेपालको परिस्थितिलाई आफैंले आंकलन गर्न पनि सुझाएका छन्। उनले विदेश मन्त्रालयका कर्मचारीलाई धैर्यका साथ नेपालको अहिलेको धरातलीय अवस्थाबारे अध्ययन गर्न लगाउन मोदीलाई सुझाव दिएका छन्।

'हामीले आफ्नो छिमेकीलाई परिपक्व हुन र आफ्ना समस्या प्रजातान्त्रिक तरिकाले हल गर्न समय दिनुपर्छ। इतिहासमै असंलग्न र गैरहस्तक्षेपकारी शक्तिका रूपमा स्थापित मानिएको भारतले त्यस्तो केही गर्न हुँदैन जसका कारण विश्वले भारतलाई अर्कै रूपमा हेरोस्', पत्रमा छ।

सत्पथीले नेपालमा उत्पन्न सामाजिक संकटका कारण द्विपक्षीय सम्बन्ध बिगार्न नहुने उल्लेख गर्दै भारतले अत्यावश्यक वस्तुको निरन्तर आपूर्ति र नेपालको अर्थतन्त्रलाई ठाउँमा ल्याउन सहयोग गर्नुपर्ने बताएका छन्।'हामीले तदारुकताका साथ नेपाललाई अहिले सहयोग गरेनौं भने भारतका लागि धेरै अवसर गुम्नेछन्,' उनले लेखेका छन्।

पत्रको अन्त्यमा सांसद सत्पथीले मोदीलाई सुझाव दिएका छन्, 'मेरो आशा छ, भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरे मात्रै तपाईंले इतिहास निर्माण गर्नुहुनेछ।'
annapurnapost

Write Comment Below: