काठमाडौं । संघीयताको सीमांकन हेरफेर गर्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावलाई लिएर मधेसी मोर्चामा दुई मत देखिएको छ ।
मधेसी मोर्चामा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टी प्रचण्डको प्रस्तावमा सकारात्मक देखिएपनि राजेन्द्र महतोको सद्भावना र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने पुरानै अडानमा कायम छन् ।
बुधबार ४ बजे हुने भनिएको वार्तालाई परिणाममुखी बनाउँनका लागि मुख्य तीन दलले सीमांकन हेरफेरका सम्बन्धमा संयुक्त प्रस्ताव ल्याउनुपर्ने माग मोर्चाले गरेको छ ।
तीन दलले संयुक्त रुपमा प्रस्ताव ल्याए वार्ता परिणाममुखी हुने मोर्चाको विश्वास रहेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको सीमांकन सम्बन्धी प्रस्ताव प्रस्ताव सकारात्मक भएपनि अन्य दलसँग छलफल गरी संयुक्त प्रस्ताव आउनुपर्ने उनीहरुको माग छ ।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग भएको भेटमा हालको प्रदेश नम्बर २ अन्तर्गत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्मका थारु बाहुल्यता भएको क्षेत्रलाई अलग्याएर, बाँकीलाई पहाडसँग मिलाउने प्रस्ताव पेश गरेका थिए ।
यस्तै झापा र कञ्चनपुरलाई विवादित जिल्ला घोषणा गरी राजनीतिक समितिमार्फत छिनोफानो गर्ने, मोरङ र सुनसरीको सीमा परीवर्तन गरी पहाडी बाहुल्यता भएको क्षेत्रलाई पहाडतर्फ र मधेशी बाहुल्यता भएको क्षत्रलाई मधेशमै मिलाउने प्रस्ताव गरेका छन् ।
nepalsandesh
