मधेसी मोर्चालाई तराई मधेसमा दुई प्रदेश दिने प्रचण्डको यस्तो छ तयारी

काठमाडौं, २ मंसिर । सत्तारूढ दलहरूले सीमांकनमा विवादित भनिएका केही जिल्लाबारे मधेसकेन्द्रित नेतासमेत सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले टुंग्याउने र हाल संसद्मा दर्ता भएको संशोधन प्रस्ताव पारित गर्ने दुई प्रस्तावसहित मधेसकेन्द्रित दलसँग वार्ता गर्ने भएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग समेत परामर्श गरी यी दुई प्रस्ताव तयार गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
यी प्रस्तावसहित बुधबार मधेसी दलहरूसँग वार्ता हुँदैछ। तराई मधेसमा दुई प्रदेश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ।
मधेसकेन्द्रित दलका नेताहरूले सीमांकनसहितको प्याकेजमा सहमति खोज्ने गरी वार्ता गर्नुपर्ने अडान लिएपछि सत्ता पक्षका नेताहरू पनि सीमांकनलाई सम्बोधन गर्ने गरी संवाद गर्न तयार भएका हुन्।
बनमन्त्रीसमेत रहेका एमाओवादी स्थायी समिति सदस्य अग्नि सापकोटाका अनुसार कैलालीलगायतलाई विवादित जिल्लाका रूपमा राखेर विवाद समाधान गर्ने जिम्मेवारी राजनीतिक समितिलाई दिने र कांग्रेस नेतृत्वको सरकारको कार्यकालमा व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई आन्दोलनरत मधेसकेन्द्रित दलहरूको समेत सहमतिमा अगाडि बढाउने गरी सहमति खोजिँदैछ ।
dainiknepal

Write Comment Below: