विप्लव माओवादीबाट मोदी-क्यामरुनको विरोध

काठमाडौं: नेकपा माओवादीका महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनद्वारा नोभेम्बर १२ मा जारी संयुक्त विज्ञप्तिमा नेपालविरुद्ध दिएको अभिव्यक्ति खेदजनक भन्दै त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्षमा उत्रिन आह्वान गरेका छन्।

विप्लवले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मोदी सरकारले नेपालप्रति लिएको गलत नीतिमा डेभिड क्यामरुनले सहमति जनाउँदै संयुक्त हस्ताक्षर गर्नु विगतको बेलायती साम्राज्यवादको धङ्धङीमात्र हो वा नेपालप्रति उसले लिएको नीतिमा परिवर्तन आएको हो? हाम्रो पार्टी उक्त वक्तव्यमा व्यक्त अभिव्यक्तिले एउटा स्वतन्त्र राष्ट्रको राष्ट्रियता स्वाधीनतामाथिको ठाडो हस्तक्षेप भएकाले भत्र्सना गर्दछ।'


 नेपालमा जारी संविधान र वर्तमान राज्यव्यवस्थाले नेपाली जनताले विगतमा गरेका सबैखाले संघर्षबाट प्राप्त अधिकारलाई कटौती र कुण्ठित गरेकाले त्यसका विरुद्ध संघर्ष जारी रहेको पनि वक्तव्यमा उल्लेख छ। विप्लवले भनेका छन्, 'अधिकार प्राप्तिका लागि राज्यका विरुद्ध गरिने संघर्ष नेपालको आन्तरिक मामिला हो।

नेपालको आन्तरिक पक्षमा भएका संघर्षको अनुचित फाइदा उठाई केही समयदेखि भारतीय शासक वर्गको नेपालमा अनावश्यक र अस्वाभाविक क्रियाशीलता बढ्दै गएको छ।

मूल रूपमा नेपालको तराई र मधेसमा भएका आन्दोलनमा भारतीय शासक वर्ग त्यसमा पनि मोदी सरकारको रबैयाले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको छ। संविधान र सरकार निर्माणसँगै भारतीय शासक वर्गको यो हस्तक्षेपका विरुद्ध हामीले लगातार संघर्ष गर्दै आएका छौं।'
annapurnapost

Write Comment Below: