कांग्रेसले औपचारिक रुपमै व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन विधेयकमा मधेसीले राखेकै मागअनुसार परिमार्जन प्रस्ताव ल्याएको हो । उक्त प्रस्तावलाई विहीबार कांग्रेसका सांसदले संसद सचिवालयमा पेस गरेका छन् ।
उक्त प्रस्तावमा अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, विगतका सहमति र अहिलेका मागका आधारमा समानुपातिक समावेशीता कायम गर्नुपर्ने माग राखिएको छ । जून माग पुरा गराउन मधेसवादी दलले चार महिनादेखि आन्दोलन गरिरहेका छन् ।
हाल संसद प्रस्तुत संशोधन विधेयक परिमार्जन गरी माथि उल्लेखित विषयलाई समेट्नुपर्ने प्रस्ताव कांग्रेसले संसद सचिवालयमा दर्ता गरेको कांग्रेस सभासद अमरेशकुमार सिंहले जानकारी दिनुभयो ।
कांग्रेसका तर्फबाट संसदमा चार विधेयक पेस गरिएका छन् । जसमा सांसदहरु विमलेन्द्र निधी, फरमुल्ला मन्सुर, मिनेन्द्र रिजाल र रोमी गौचनले अलग अलग प्रस्ताव पेस गरेका हुन् ।
संविधान संशोधन प्रस्तावमा परिमार्जन प्रस्ताव पेस गर्न तोकिएको समयभित्र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र मिना पुन, नेककिपाका प्रेम सुवाल, नेपाली जनता दलका हरिशरण शाह, रामकुमार राई र नेकपा सयुक्तका जयदेव जोशीले फरक फरक प्रस्ताव पेस गरेका छन् ।
जसमा जनमोर्चाले संशोधन विधेयकले पहाडी समुदायलाई विभेद गरेको भन्दै विरोध जनाएको छ ।
यसअघि कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलले संयुक्त रुपमा प्रस्ताव लैजाने भनेका छन् थिए तर, यो समाचार तयार पार्दासम्म एमाले, एमाओवादी र मधेसी मोर्चाले संशोधन विधेयकमा प्रस्ताव पेस गरेका छैनन् ।
dainiknepal
