यूएन मिसन अन्तर्गत लेबनानमा खटिएका नेपाली सैनिकको मृत्यु, शव नेपाल ल्याइयो

काठमाडौं, २३ पुस । शान्ति सेना अन्तर्गत यूएन मिसनमा लेबनानमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।
विश्व शान्ति स्थापनार्थ युनिफिल मिशन, लेवनानमा श्री गोरखदल गण (शा.से.) ५७ औं डफ्फामा कार्यरत प्युठ भरतराज कार्कीको कर्तव्य पालनको सिलसिलामा पुस १७ गते मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालय जंगीअड्डाले जनाएको छ ।
मृत्यु भएका कार्कीको शवलाई बुधबार कतार एयरलाईन्सको उडानबाट नेपाल ल्याइएको छ । विहीबार वीरेन्द्र अस्पताल, छाउनीको प्राङ्गणमा सैनिक सम्मानका साथ कार्कीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, सेनानी समूह, अन्य सैनिक जवान एवं सम्बन्धितका परिवारजनका साथै नेपालस्थित यूएन स्थायी नियोगका प्रतिनिधि र रक्षा मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।
नेपाली सेना विगत ६ दशकभन्दा अघिदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरुमा शान्ति सैनिकका रुपमा खट्टिई आफूलाई सुम्पिएको जिम्मेवारी कूशलतापूर्वक निर्वाह गर्दै आएको छ । एक सैनिक जवान राष्ट्रले दिएको कठिन भन्दा कठिनतम् आदेशलाई शीरोपर गर्दै मातृभूमि, आफ्ना परिवारजन तथा सहकर्मी मित्रहरुबाट टाढा रहंदै अपरिचित र कठिन भौगोलिक सुरक्षा परिस्थितिमा समेत विश्व शान्ति स्थापनार्थ तैनाथ हुनु आफैंमा गौरवको विषय भएको सेनाले जनाएको छ ।
‘अझ, विश्व शान्ति र भात्तृत्वका लागि खट्टिदा खट्टिदै शहादत प्राप्त गर्नु आफैंमा विशिष्ट त्याग र बलिदान हो । शान्ति स्थापनाको पूण्य कार्यमा समर्पित सैनिक जवानको यस बलिदानले विश्व शान्तिप्रतिको नेपालको अटुट समर्पणलाई थप उजागर गरेको छ ।’ नेपाली सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । तथ्यांकअनुसार हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६२ जना शान्ति सैनिकहरुको मृत्यु भइसकेको छ ।
dainiknepal

Write Comment Below: