शनिबार बेलुका दुवै तर्फको कार्यदलको बैठक बसेर मोर्चाले राखेका मागबारे बुँदागत छलफल थाल्ने भएको छ । संसद्को प्रक्रियामा रहेको संविधान संशोधनको विधेयकलाई पारित गर्ने गरी सहमतिको खाका तयाार गर्न दुवै पक्षले कार्यदल बनाएपछि अहिले कार्यदल छलफलमा जुटेका छन् ।
कार्यदलमा नेपाली कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल र एमाओवादीका नारायणकाजी श्रेष्ठ छन् भने मोर्चाका तर्फबाट हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय छन् ।
शनिबारको बैठकमा पनि प्रदेशहरुको सिमांकनको पुनरावलोकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता प्रावधान, राज्यका निकायमा समावेशी सहभागितालगायतका विषयमा छलफल हुने जानकारी रायले दिए।
कार्यदलमा समझदारी जुटेपछि शीर्ष तहमा वार्ता गरेर सहमति गर्ने र संसद्बाट संविधान संशोधन विधेयक पारित गर्ने तयारी छ ।
जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका निकायमा समावेशी सहभागितासम्बन्धी संविधान संशोधन विधेयक संसद्मा विचराधिन छ। यसमा संशोधन प्रस्तावहरु पेस भइसकेका छन् । प्रस्तावित विधेयकमै परिमार्जन गरेर मधेसलाई सम्बोधन गर्ने प्रयास ठूला तीन दलले गरेका छन् ।
त्यसैगरी सिमांकनको विषयलाई तीन महिनाभित्र टुंगो लगाउन अधिकारसम्पन्न राजनीतिक संयन्त्र वा संवैधानिक आयोग बनाउने औपचारिक निर्णय सरकारले गरिसकेको छ।
annapurnapost
