काठमाडौं – व्यवहारबाट परख नगर्ने र नेताका बोलीलाई मात्र विश्वास गर्ने हो भने यिनीहरुयी जत्तिका आदर्श, देशप्रेमी, जनप्रेमी र पद्दतिका पक्षपाती कोही लाग्दैनन् । यिनका वास्तविक जीवन चाहिं कति स्वार्थी, पद्धतिका विपरित र कमाउने कार्यमा मात्र केन्द्रित हुन्छन् भन्ने झाँकी यहाँ प्रस्तुत गर्न लागेका छौं ।
रेवन्त गौतम सरकारी पदले सव इन्जिनियर र नेपाली निजामती कर्मचारी संगठनका उपाध्यक्ष हुन् । स्थानीय निकायका कर्मचारी यिनको दरबन्दी जिल्ला प्राविधिक कार्यालय प्युठान हो । यी निजामती कर्मचारी होइनन् । जिल्ला विकास कार्यालयले यिनलाई नियुक्त गरेको हो ।
दैनिक हाजिर गरी जागिर खाने कार्यालय प्युठान भएपनि गौतम गत दुई वर्षदेखि काठमाडौमै बस्छन् । हालसम्म यिनको न तलबभत्ता रोकिएको छ न त जिविसको प्राविधिक कर्मचारी भएर पाइने कमिसनको भाग नै खोसिएको छ । यिनी २÷२ महिनाको अन्तरालमा प्युठान जान्छन्, हाजिर बजाउँछन्, विकास निर्माणका लागि गएको रकमबाट काम फत्ते भएको फर्जी कागजी प्रक्रियामा हस्ताक्षर गरेपछि आफ्नो भाग लिन्छन् र फेरी राजधानी फर्कन्छन् ।
एमाले निकट कर्मचारी संगठनमा आबद्ध जिल्लाका राष्ट्रसेवककाबीच खुब आदर्श, सिद्धान्त र परिवर्तनका गफ दिन रुचाउने गौतम डेढ दुई महिनामा जिल्ला पुगेर भागमा आउने कमिसन र तलबभत्ता बुझ्दा पटक्कै लाज मान्दैनन् । बरु उल्टै राजधानीका उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतासँगका पहुँचको हवाला दिएर कहिले युनियन काज, कहिले योजना निरीक्षणका नाममा, कहिले स्थानीय विकास मन्त्रालय र कहिले डोलिडारमा काज भनी काठमाडौतिर हानिन्छन् । यिनी सात दिने काज लिएर एक महिनासम्म राजधानीमै बिना काम बरालिन्छन् र कार्यालयमा गएर कहिले योजना अनुगमन र संगठनको काममा थिएँ भनी एकैचोटी हाजिर गर्छन् ।
तर संगठनको विधानमा र स्थानीय निकायको नियमावलीमा पनि कार्यालयमा अनुपस्थित भई डेढ दुई महिनामा एकैपटक किर्ते हाजिर गरी तलबभत्ता खान पाउने व्यवस्था छैन । बरु ऐनमा जुनसुकै ट्रेड युनियनका पदाधिकारीले पनि कार्यालय समयमा सरकारी कामकाज गरी बिहान‐बेलुका वा सार्वजनिक बिदामा ट्रेडयुनियनको काम गर्ने भन्नेछ ।
यति मात्र होइन यिनले नेता भएकै कारण जिवनसंगिनीलाई समेत निजामती सेवा नियमावलीको उलंघन गरेर काठमाडौमै कमाउ कार्यालयमा ल्याएका छन् । यिनकी श्रीमती मधु भट्ट सेती अञ्चलबाट लोकसेवाआयोग पास गरी सहायक स्तरमा जागिरे बनिन् । निसेनिमा प्रष्ट व्यवस्था गरिएको छ कि जुन अञ्चलबाट सेवा प्रवेश गरिएको हो सोही अञ्चलमा कममा पनि पाँच वर्षसम्म सेवा गर्नुपर्नेछ । तर मधुले जागिर शुरु गर्नासाथ उनका श्रीमान् रेवन्त नेता भएकै कारण सारा कर्मचारीलाई लाग्ने नियम पालना गर्नुपरेन । उनी जागिरे बनेकी दुई वर्ष भयो र भूमीसुधार मन्त्रालय अन्तर्गत राजधानीमै कार्यरत रहेको पनि दुई वर्ष पुग्नै लाग्यो । आदर्श र सिद्धान्तका कुरा गर्न माहिर कर्मचारी नेता रेवन्तको वास्तविक जीवन कति बदमाशी र अराजक रुपले चलेको छ यी दृष्टान्तले प्रष्ट पार्छन् ।
रेवन्त विगत ८ वर्ष अर्थात् ०६४ सालदेखि संगठनको उपाध्यक्ष छन् । स्थानीय स्वायत्त शासन ऐनमा यस समूहका कर्मचारीले काजमा एक महिनासम्म आथिक लाभ लिएर जान पाउने प्रावधान छैन । तर यी निजामती कर्मचारी नभएपनि प्राविधिक कार्यालयका हाकिमहरुलाई धम्काएर ऐन बमोजिम नपाउने सुविधा पनि वर्षैपिच्छे लिइरहेका छन् । रेवन्तको मुख्य काम भनेको जिविस र गाविसले सञ्चालन गर्ने योजनाका इस्टिमेट गर्ने, अनुगमन गर्ने र योजनास्थलमै गएर कार्यसम्पादन भए नभएको यथार्थ प्रतिवेदन पेश गर्ने हो । तर यिनी दुई महिनामा एकपटक सदरमुकाम खलंगामा गएर एक हप्ता बसी उपभोक्ता समिति तथा गाविस सचिवसँग मिलेर इस्टिमेट,अनुगमन, कार्यसम्पन्न प्रतिवेदन सबै बनाइदिने बहूलठ्ठीपूर्ण काम गर्छन् । यसो गरेवापत यिनलाई राम्रै रकम कमिसनस्वरुप हात लाग्दछ । अनि यिनी नै बजेट सदुपयोग, पारदर्शिता तथा विकासका कुरामा प्राय प्रवचन पनि दिन्छन् ।
कर्मचारीका संगठनको केन्द्रीय समितिमा रहेर छानीछानी कमाउ कार्यालयमा जाने र त्यसलाई सकेजति दोहन गरिसकेपछि लगत्तै अर्को आकर्षक अड्डामा सरुवा हुने भाग्यमानी रामचन्द्र अधिकारी हुन् । केही वर्षअघि यी ललितपुरको करोडौं बजेट हुने इमाडोल गाविसका सचिव थिए । त्यहाँ यिनको कमाई गर्ने र त्यसबाट संगठनका नेतालाई पनि लाभ पुर्याउने शैलीबाट प्रभावित भएर संगठनकै पहलमा उनलाई लगत्तै सेवा नै परिवर्तन गराएर वैदेशिक रोजगार विभागमा पठाइयो । वैरोमा रहेर यिनले अतिरिक्त कमाईबाट संगठनका पदाधिकारीलाई देशभ्रमण र विदेशसम्म पुग्न लाखौं सहयोग गरे । यहाँ रहँदा अधिकारीले सबै कटाएर ५० लाख कमाई गरी बचाएका उनीसँगै वैरोमा रहेका संगठनकै अर्का सदस्य बताउँछन् । पाँचलाख त उनले वैरोमा रहँदा संगठनका नाममा उनलाई त्यहाँ पुर्याउने संगनका नेताहरुमाथि खर्चिएको बताउने गरेका छन् । यी भाग्यमानी अहिले वैरोबाट सोझै यातायात व्यवस्था विभागमा स्थापित गरिएका छन् । हाल यिनी संगठनका केन्द्रीय सदस्य पनि रहेका छन् ।
कर्मचारी सरुवा हुन कममा पनि दुई वर्ष एउटा कार्यालयमा काम गरेको हुनुपर्ने प्रावधान निसेनिमा छ । तर संगठनका साधारण सदस्य मात्र भएपनि प्रकाश अधिकारी भने लोसेआबाट अधिकृत भएको दुई वर्ष नपुग्दै छानेका चार आकर्षक कार्यालयमा फन्को मारिसकेका छन् । यी ३ वर्षअघिसम्म काभ्रेको महादेवस्थानमा गाविस सचिव थिए । त्यतिबेला नै यिनले सचिवको हैसियतमा भ्रष्ट स्थानीय नेतासँग मिली सय रोपनीजति सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न सिफारिश गरिदिएर एकैपटक १२ लाख रुपैयाँ घुसस्वरुपमा हात पारे । अधिकारीको यो गलत कार्यका विरुद्ध वैद्य माओवादीले उनलाई कि जग्गा दर्ता बदर गर्न प्रक्रिया अघि बढाउनु पर्ने कि भौतिक कारवाहीका लागि तयार रहनुपर्ने चेतावनी दिएपछि सो क्षणसम्म संगठनको साधारण सदस्य पनि नरहेका प्रकाश काठमाडौ आएर संगनका पैसाप्रेमी पदाधिकारीलाई खुशी तुल्याई मन्त्रालयमा काजमा आए । स्थानीय विकास मन्त्रालयमा हाजिर भएपछि राजधानीमै बस्न थालेका उनले घुसको रकम सदुपयोग गरी भक्तपुरमा जग्गा पनि खरिद गरे ।
जग्गा किन्ने रकम जोडेका र संगठनका पदाधिकारीको संरक्षण पाएका उनी ढुक्कैले पढ्न थाले र दुई वर्षअघि अधिकृतमा नाम निकाले । पहिलो रमाना स्वरुप सर्लाही निर्वाचन कार्यालयमा खटिए । पैसाकमाउन सकिने अवस्था नभएपछि उनी त्यहाँ टिकिरहने कुरै भएन । संगठनकै नेताका बलमा केही महिनापछि नै उनी खोटांग जिविसमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत बनेर गए । त्यहाँ एकवर्ष पनि नबसी संगठनकै पहलमा लालबन्दी नगरपालिकामा कार्यकारी बने । छोटो अवधि मात्र त्यहाँ बसी नयाँ घोषित राजधानीकै बज्रबाराही नपामा उपसचिव कार्यकारी हुनुपर्नेमा संगठनकै बलमिच्याइमा हाल अधिकृत यिनलाई नै कार्यकारी बनाइएको छ । दुई वर्षमै रोजीरोजी कमाउ कार्यालयमा सरुवा गराउने संगठनका नेतालाई निर्णायक पदमा जिताउन यिनले नयाँ नपाको कति लाख रुपैयाँ सुम्पलान् अनुमान मात्र गरौं ।
संगनठनका नेतालाई लाखौं रकम चढाएर राज्यका कान्छा ज्वाई बन्ने अर्का कर्मचारी जयराम उप्रेती हुन् । विकासका लागि विनियोजित सरकारी रकम मिलाएर खाने र खुवाउने कार्यमा सिपालु भएकै कारण संगठनका केही नेता यिनलाई जहाँ बढी कमाउन सकिन्छ त्यहीं पठाउन मरिमेटेर लाग्छन् । यी करीब ४ वर्षअघिसम्म काभ्रेको पनौती नपाको उपस्वास्थ्यचौकीमा अहेब (खरिदार स्तर) थिए ।
अधिकृतमा नाम निकाले र सहायक सिडिओ भएर बाजुरा गए । जहाँ खटेपनि दुई वर्ष अनिवार्य बस्नुपर्ने निजामती सेवा ऐनको प्रावधान भएपनि ६ महिना पनि नबिती यिनी नेपाल निजामती कर्मचारी संगठनकै द्रव्यप्रेमी नेताका पहलमा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा काजमा ल्याइए ।
निजामती कर्मचारीको बढुवाका लागि अनिवार्य तालिम कार्यक्रमहरु सञ्चालन गर्ने केन्द्रमा तालिम सामग्रीदेखि प्रशिक्षकका रुपमा अतिरिक्त कमाई गर्न पाइने भएकाले उनलाई त्यहाँ पुर्याइएको हो । यहाँ हुने अतिरिक्त कमाइबाट चित्त नबुझेपछि उनी केही महिनापछि नै ताप्लेजुंगमा योजना अधिकृत बनेर गए । त्यहाँको कमिसन र अतिरिक्त कमाइमा पनि उनको मन रम्न सकेन । ताप्लेजुंगमा हाजिर भएको करीब १० महिनापछि कमाउ कार्यालय खोज्दै भौंतारिएका उनी संगठनकै नेताका बलमा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ल्याइए । हाल उनी लाइसेन्स वितरण शाखामा छन् र विवादित स्मार्ट कार्डमा यिनैको हस्ताक्षर रहने गरेको छ ।
ट्रेड युनियनको नेता भएको आडमा अनियमितता गरी मनग्गे कमाउन सकिने सरकारी अड्डाहरु छानीछानी जाने र थोरै समयमा लाखौं कमाई त्यहाँबाट सरिहाल्ने अर्का कर्मचारी इश्वरी ढकाल हुन् । नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष समेत रहेका लेखा अधिकृत ढकाल उपाध्यक्षको जिम्मेवारीमा रहेपछि जल उत्पन्न प्रकोप नियन्त्रण कर्यालय बारा, मालपोत कार्यालय ललितपुर, कर्मचारी प्रशिक्षण केन्द्र ललितपुर, ट्रमा सेन्टर (वीरअस्पताल), स्थानीय विकास मन्त्रालय, पर्यावरणमा आधारित स्थानीय विकास भन्ने प्रोजेक्ट र ग्रामीण विकास प्रशिक्षण केन्द्रमा पुगी रस चुसिरहेका छन् । मालपोत लपुमा रहेर पैसा त कमिने तर जतिबेला पनि अख्तियारले समाउने भएकाले बदनामीको डरले उनी स्टाफ कलेजमा सरुवा भए ।
खरिदार र सुब्बाको पदोन्नतीका लागि अनिवार्य तालिममा एउटा कक्षा लिने र कक्षा संख्या बढाएर कमाउने धन्दा चलाए । प्रतिकक्षा २ हजार रुपैयाँ पाइने भएकाले मासिक दर्जनौं कक्षा बढाएर उनले त्यहाँ रहुञ्जेल अतिरिक्त कमाई गरेका स्टाफ कलेज श्रोतले रातोपाटीलाई बताएको छ ।
यसपछि उनी ट्रमा सेन्टरमा गए । भारतीय सहयोगमा झण्डै अर्बको लागतमा निर्मित सेन्टरको नरेन्द्र मोदीले उद्घाटन गर्दा ढकाल नै त्यहाँका लेखाअधिकृत थिए । उद्घाटनअघि करोडौंका सामान खरिद गर्दा लाखौं कमिसनको खेलमा ढकाल संलग्न थिए । उनले सामान खरिद गर्दा दशौं लाख लाभ हासिल गरेका वीर अस्पतालका एक अधिकृत बताउँछन् । यसको चर्चा शुरु हुन लागेपछि उनी सुटुक्क स्थानीय विकास मन्त्रालयमा सरुवा मिलाएर आए ।
मन्त्रलयमा बसेर कमाइको मौका नपाएपछि उनी छोटो अवधिमै फेरी स्थानीय विकास प्रशिक्षण केन्द्रमा गए । यहाँ हुने सिमित अतिरिक्त कमाइमा चित्त नबुझाएका उनी हाल अर्बौं विदेशी लगानी रहेको पर्यावरणमा आधारित स्थानीय विकास भन्ने प्रोजेक्टमा सरेका छन् । मन्त्रालयका एक उपसचिव भन्छन् यो प्रोजेक्ट एनजिओ जस्तै हो । उल्लेखित सबै कर्मचारीहरुले केही वर्षको छोटो अवधिमै राजधानीमा दुईभन्दा बढी स्थानमा करोड पर्ने जमीन जोडेका छन् । यिनलाई निसेनिको उलंघन गरी कमाउ कार्यालयमा पठाउने नेपाल निजामती कर्मचारी संगठनका सदाबहार नेताहरुले देशदेखि विदेश भ्रमण गरेकाछन् ।
तर यिनीहरुले काम गरेका कार्यालयका हालत हेर्ने हो भने केही काम भएको पाईंदैन । देखिने गरी आफैं भ्रष्टाचारमा संलग्न नहुने तर पैसाका लागि दर्जनौं कर्मचारीलाई पालैपालो कमाउ कार्यालयमा खटाई सबैबाट लाभ लिइरहने ट्रेड युनियन नेतृत्वलाई कन अख्तियारले बेवास्ता गरेको छ खोजीको विषय बनेको छ ।
ratopati
