वैकल्पिक डिपोबाट पाँच गुणा बढी इन्धन

पुस २५, २०७२- भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले गोन्डा र बेतालपुर डिपोबाट दैनिक थप ६ लाख ५० हजार लिटर पेट्रोल उपलब्ध गराउन सहमति जनाएको छ । यी डिपोबाट हाल दैनिक करिब डेढ लाख लिटर इन्धन आयात हुँदै आएको छ । हालको भन्दा पाँच गुणा बढी इन्धन आयातको सहमति आईओसीले जनाएको हो । नयाँ सहमतिअनुसार गोन्डा र बेतालपुरबाट दैनिक ४/४ लाख लिटर पेट्रोल आयात गर्न सकिने छ ।

वीरगन्ज नाकामा मधेसी मोर्चाको धर्नाका कारण बरौनीबाट इन्धन ल्याउन नसकिएकाले निगमको आग्रहमा आईओसी वैकल्पिक नाकाटबाट इन्धन बढाउन सहमत भएको हो । नेपालका लागि सबैभन्दा बढी इन्धन आयात हुने मुख्य नाका वीरगन्ज हो । ‘रक्सौल नाका अवरुद्ध भएपछि अन्य नाकाबाट इन्धन लोड बढाउन आईओसीसँग पत्रचार गरेका थियौं,’ निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भने, ‘गोन्डा र बेतालपुर डिपोबाट लोड बढाउन आईओसी सहमत भएको छ ।’

बेतालपुर डिपोबाट भैरहवा र गोन्डा डिपोबाट नेपालगन्जका लागि इन्धन आयात हुन्छ । निगमले लोड बढाउन चार दिन अघि आईओसीलाई पत्रचार गरेको थियो । आईओसी सहमत भए पनि गोन्डा र बेतालपुरबाट थप इन्धन आयातमा भने केही समय लाग्ने छ ।

निगमका अनुसार आईओसीबाट केही प्राविधिक विषयहरू मिलाउनुपर्ने भएकाले केही समय लाग्न सक्छ ।

‘थप इन्धन दिन आईओसी सहमत भए पनि बढी प्राविधिक कारणले आयात गर्नका लागि केही दिन कुर्नपर्ने छ,’ खड्काले भने । निगमका अनुसार भारतसँगका ६ वटा नाकाबाट इन्धन आयात हुन्छ । ती धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज विराटनगर र काँकडभिट्टा हुन् । त्यसका लागि भारतर्फका ४ वटा रिफानइनेरी सेन्टर छन् । ती बरनाल, मथुरा, बरौनी र हल्दिया हुन् ।

बरौनी रिफाइनेरीबाट लोड भएको इन्धन रक्सौल नाकाबाट आयात हुन्छ । रक्सोलबाट आयात हुने इन्धन मुख्यत: उपत्यकाका लागि हो । तर, करिब ४ महिनादेखि नाका ठप्प भएपछि बजारमा अवैध रूपमा आयात भइरहेको छ । त्यही अवैध रूपमा आयात भएको इन्धनले बजारको माग धानेको छ ।

रक्सोलबाहेक अन्य नाकाबाट भित्रिएको इन्धन भने अत्यावश्यक सेवा र पहुँचवालालाई तोकको आधारमा वितरण भइरहेको छ । अहिले भारतले नाका केही खुकुलो पारेपछि निगमले अन्य नाकाबाट  लोड बढाउन आग्रह गरेको हो ।

निगमका प्रवक्ता मुुकुन्द घिमिरेका अनुसार बेतालपुर र गोन्डाबाट थप ४/४ सय किलोलिटर इन्धन लोड दिन आग्रह गरिएको छ । ती नाकाबाट पेट्रोलका लागि आग्रह गरिएको हो । गोन्डा र बेतालपुरबाट १ सय ५० किलोलिटर मात्रै इन्धन आयात हुन्छ । उक्त इन्धन पनि सोही क्षेत्रका उपभोक्ताका लागि हो ।

ती नाकाबाट इन्धन आयात वृद्धि गरेर ८ सय किलोलिटर पेट्रोल आयात गर्न सके रक्सोल नाका बन्द रहे पनि उपभोक्ताले केही राहत पाउने निगमको ठहर छ । निगमका अनुसार मुलुकभरि दैनिक पेट्रोलको माग ११ सय किलोलिटर, डिजेल २६ किलोलिटर हो । उपत्यकामा भने दैनिक पेट्रोल साढे ३ लाख र डिजेल साढे ४ लाख किलोलिटर आवश्यक हुन्छ ।

निगमका अनुसार अहिलेकै अवस्थामा आयात बढे केही साताबाट सबै पम्पहरूबाट इन्धन वितरण गर्न सकिने छ । मागको ५० प्रतिशतसम्म इन्धन (पेट्रोल, डिजेल र ग्यास) आयात हुन थालेको छ । पुसअघि मागको १५ प्रतिशत मात्रै इन्धन उपलब्ध हुँदै आएको थियो । ‘रक्सोल नाकाबाहेक सबै नाकबाट इन्धन भित्रिएको छ,’ खड्काले भने, ‘यही अवस्थामा आयात भए केही साताबाट सबै पम्पबाट इन्धन वितरण गर्ने छौं ।’

इन्धनको आपूर्तिमा वृद्धि भएपछि निमगले निजी सवारी साधन (कार/जिप) लाई वितरण गर्दै आएको छ । लटअनुसार तीन दिन वितरण गरिने निजी सवारीलाई १५ लाख लिटिर इन्धन दिइने जनाएको छ । निगमका अनुसार चारपांग्रे सवारीलाई बुधबार, शुक्रबार वितरण गरिएको थियो । अब सोमबार पुन: वितरण गरिने छ । तिहारयता चारपांग्रेलाई इन्धन दिइएको छैन । मोटरसाइकललाई भने तिहारपछि एकपटक मात्रै वितरण गरिएको थियो । मौज्दात न्यून भएपछि कार/जिपलाई वितरण गर्न ढिलाइ भएको निगमको भनाइ छ ।

भारतको नाकाबन्दीका क्रममा सबैभन्दा बढी इन्धन कटौती गरिएको थियो । त्यस अवधिमा १० देखि १५ प्रतिशत मात्रै इन्धन दिने नीति अपनाइएको थियो । वीरगन्जबाट अझै पनि आयात हुन सकेको छैन ।
खड्काका अनुसार थानकोट डिपोमा १४ सय किलोलिटर पेट्रोल र ३ हजार ५ सय किलोलिटर डिजेल मौज्दात छ । kantipur.ekantipur


Write Comment Below: