चुरे भावरको प्रतिकारको डरले मधेसी मोर्चाका शीर्ष नेता नवलपुर नजाने, झडपको सम्भावना

काठमाडौं, १७ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टीको प्रतिकार बढेपछि मधेसी मोर्चाभित्र खैला बैला मचिएको छ । इटहरीमा भएको प्रतिकारसंगै मधेसी मोर्चाले राजमार्गमा गर्ने आफ्नो सभालाई कि त स्थगित गरेको छ कि त स्थान सारेको छ ।
इटहरीमा मोर्चाका कार्यकर्तालाई लखेटेपछि दुहबीको कार्यक्रम सारेर विराटनगर, बर्दिबासको कार्यक्रम सारेर ढल्केबर, लालबन्दीको कार्यक्रम सारेर नवलपुरमा गरेको छ । यस्तै, प्रतिकार हुने र लखेटिने डरले निजगढ, पथलैया, हेटौडा र अत्तरियाको कार्यक्रम भने स्थगित नै गरेको छ ।
हिजो ढल्केवरमा भएको सभामा चर्को भाषण गरेका मधेसी मोर्चाका शीर्ष नेताहरू सर्लाहीको नवलपुरमा हुने सभामा सहभागी नहुने भएका छन् । अब वार्ताको कुनै औचित्य नभएको र काठमाडौंसंग वार्ता नगर्ने भन्दै भाषण गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शनिवार हुने वार्ताको लागि आजै काठमाडौतिर लागेका छन् ।
यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि ढल्केवरको सभामा सहभागी भएका थिए तर अस्वस्थताको कारण जनाउंदै जनकपुरमै रहेका छन् । ठाकुर आजै काठमाडौं फर्किने कार्यक्रम छ । आफ्नै गृह जिल्ला भएका ठाकुरसहित महेन्द्र यादवको पनि नवलपुरको राजमार्गमा रहेको सभामा जाने कार्यक्रम निश्चित छैन् ।
आक्रामक शैलीमा चर्को भाषण गर्दै आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने नवलपुर सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका पार्टीका जिल्ला नेताले बताएका छन् ।
आज बिहान सिरहाको लहानमा पत्रकार सम्मेलनमा बोल्दै महतोले चूरे भावरको प्रतिकारको घोषणा भएकै कारण आफू नवलपुरको सभामा सहभागी हुने बताए । महतोले चूरेभावरको क्षेत्र हुंदै आफू नवलपुर पुग्ने र आफूलाई रोक्न चूरे भावरलाई चुनौती समेत दिए । चूरे भावरका अध्यक्ष बद्री न्यौपानेले राजेन्द्र महतोलाई चूरे भावर क्षेत्रमा प्रवेश गर्न नदिने घोषणा गरेका थिए ।
चूरे भावरको प्रतिकारको डरले महतो बाहेकका मोर्चाका शीर्ष नेताहरू नवलपुर नआउने भएपछि आम मधेसी जनता सभामा उपस्थिति हुने नहुने बारे अन्यौलता छाएको छ । नवलपुरमा झडप हुने सम्भावना भएकोले गर्दा जनताको उपस्थिति न्यून हुने मोर्चाका स्थानीय नेताले बताएका छन् ।
dainiknepal

Write Comment Below: